January 23, 2025, Thursday
२०८१ माघ १०

साढे ४ सय कृषकलाई कृषि औजार

चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिकाका ४ सय ६३ जना कृषकलाई विभिन्न कृषि औजार सहयोग गरिएको छ । खेतीपातीका बेला यस्ता उपकरण पाएपछि उनीहरु खुसी छन् । उनीहरुलाई नगरपालिकाले आवश्यकता अनुसार कृषि कर्ममा सहयोग पुर्याउन कृषि औजार र उपकरण प्रदान गरेको छ ।

नगरपालिकाले ११ वटै वडाका कृषकलाई हाते सानो ट्याक्टरदेखि मकै छोडाउने उपकरण सम्म वितरण गरेको छ । ४५ कृषकलाई ७ हर्सपावरको हाते ट्रयाक्टर वितरण गरिएको छ । २ सय २८ कृषकलाई ५ हर्सपावरको पम्पसेट र २० कृषकलाई एक हर्सपावरको धान काट्ने मेसिन प्रदान गरिएको छ ।

Advertisement

६० कृषकलाई दुई हर्सपावरको सिंचाई गर्ने पानी तान्ने मोटर र ५ जनालाई मकै छोडाउने ईलेक्ट्रिक मेसिन प्रदान गरिएको छ । ६९ कृषकलाई १६ लिटरको स्प्रे मेसिन र ३६ कृषकलाई वोरिङ वितरण गरिएको छ । वोरिङका लागि ७० फुट पाइप प्रदान गरिएको छ ।

नगरपालिका र कृषकको साझेदारीमा उपकरण वितरण गरिएको छ । ‘कृषकको पनि अपनत्व होस् भनेर थोरै लगानी राखेका हौं’, नगरपालिका कृषि शाखा प्रमुख कृषि विकास अधिकृत ताराचन्द्र चौधरीले भने, ‘६० देखि ७५ प्रतिशतसम्म कृषकलाई अनुदान दिएका छौं ।’

एक करोड १५ लाख ७६ हजारका सामाग्री वितरण गरिएको हो । उपप्रमुख शिवकुमारी चौधरीको संयोजकत्वमा रहेको अनुगमन समिति कृषकका घरघर पुगेर उनका समस्या र मागबारे अध्ययन गरि सहजताका लागि उपकरण प्रदान गरिएको हो ।