March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

चौधरी ग्रुपको बियर उद्योगमा लागेको आगो निभाउने प्रयास जारी

नवलपुर –नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा बुधबार बिहानदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।

Advertisement

देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा लागेको आगो  सातवटा दमकल परिचालन गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

Advertisement

आगो फैलिन नदिन भवनका पर्खाललाई भत्काउने काम भइरहेको उनले बताए।

‘अरु भवनमा नफैलियोस् भनेर पर्खाल भत्काउने र पानी हालेर निभाउने काम सँगसँगै गरिरहेका छौँ’, उनले भने।

विधुतीय सटका कारण आगलागी भएको हुन सक्ने जनाइएको छ। बियर राख्न प्रयोग हुने कार्टुनको स्टोरबाट आगलागी सुरु भएको डीएसपी गिरीले बताए।

आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन्।

आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। तर आर्थिक क्षति भने ठूलो भएको आशंका गरिएको छ।