अर्घाखाँची सिमेन्टद्वारा मैनहियामा ७० लाखमा स्वास्थ्य चौकी निर्माण


भैरहवा– रुपन्देहीको सियारी गाउँपालिका–२, मैनहियामा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट प्रालिले ७० लाख लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरेको हो ।
बुधबार उक्त स्वास्थ्यचौकी उद्योगले गाउँपालिकालाई हस्तान्तरण गरेकोे छ । एक तल्लाको उक्त स्वास्थ्य चौकीमा ६ वटा कोठा, ट्वाइलेट, बाथरुम छन् । उद्योगले स्वास्थ्य चौकीमा तत्काललाई १० बेड र १० वटा अक्सिजन सिलिन्डरसमेत उपलब्ध गराएको छ । यहाँ १५ बेडसम्म राखेर विरामीको उपचार गर्न मिल्ने गाउँपालिकाले जनाएको छ ।
११० दिनमै निर्माण सम्पन्न गरिएको स्वास्थ्य चौकी भूकम्परहित छ । स्वास्थ्य चौकी बनाउन गाउँपालिकाले उद्योगलाई डिजाइन बनाएर उपलब्ध गराएको थियो । उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण गरिएको बताए ।
‘यहाँ हाम्रो उद्योग संचालित छ, यस क्षेत्रको स्वास्थ्य, शिक्षालगायतका कुराहरुमा हामीले हातेमालो गरौं भन्ने उद्देश्यले स्वास्थ्य चौकी बनाएका हौं’, उनले भने । आवश्यकताका आधारमा दोस्रो तल्ला थप्न पनि उद्योगले सहयोग गर्ने अग्रवालले जनाए ।

कोरोना महामारीकै बीच पनि उद्योगले छोटो समयमै स्वास्थ्य चौकी निर्माण गरेर हस्तान्तरण गरेको हो । उक्त स्वास्थ्य चौकी तत्काल संचालनमा ल्याइने जनाइएको छ । बेड र अक्सिजन पनि भएकाले संक्रमितको उपचार सुरु गर्ने गाउँपालिका अध्यक्ष अयोध्या थारुले जनाए ।
उनले भने, ‘उद्योगले शिक्षा, स्वास्थ्यमा पालिकाभित्र ठूलो योगदान गरेको छ । यस्तो विषम परिस्थितिमा पनि स्वास्थ्य चौकी बनाएर सहयोग गर्नु आफैमा सहारनीय छ । यसलाई हामीले तत्काल संच्चालन गरी विरामीको उपचार थाल्छौं ।’
स्वास्थ्य चौकी हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले निजी क्षेत्रसँगको सहकार्यमा कोरोना महामारीलाई जित्न सफल हुने विश्वास गरे । उनले भने, ‘महामारी नियन्त्रणमा स्थानीय, प्रदेश र संघ सरकारले विशेष काम गरिरहेका छन्, यसमा निजी क्षेत्रको सहयोग प्राप्त भएमा हामीले छिट्टै महामारीबाट छुट्कारा पाउँछौं ।’
उनले महामारीबाट बच्न सरकारले तोकेका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरे । चिकित्सकको सल्लाहविनै औषधि सेवन गर्ने, आफै हाईफ्लो अक्सिजन लगाउने गर्दा कयौं संmक्रमितको ज्यान जोखिममा परेको भन्दै यस्तो नगर्न आग्रह गरे ।

उद्योगले विगत लामो समयदेखि सियारीमा स्वास्थ्य, शिक्षाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको छ । सियारी गाउँपालिका भित्रै रहेका सबै सरकारी विद्यालयहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउने, विद्यालय निर्माण, स्वास्थ्य चौकी निर्माणमा उद्योगले सहयोग गरेको छ ।
केही समय पहिला उद्योगले सियारीकै भगदरीमा ४ कोठा र सेमरामा ६ कोठाको दुई वटा विद्यालय बनाइदिएको थियो । अघिल्लो वर्ष कोरोना महामारीका बेला प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमासमेत ५१ लाख रुपैयाँ सहयोग गरेको थियो ।
यस्तै, अघिल्लो वर्ष सीमा नाकामा स्वदेश फर्कने प्रत्येक नेपालीहरुलाई महिना दिनसम्म माक्स र पानी वितरण गरेको थियो । दोस्रो लहरको संक्रमण फैलिएपछि उद्योगले भीम अस्पतालमा ५ हजार माक्स सहयोग गरेको उद्योका सहायक प्रबन्धक कृष्ण पाण्डेले बताए ।

यस्तै, योपल्ट पनि जिल्ला प्रशासन कार्यालयमार्फत् बेलहिया नाकामा नेपालतर्फ आउने नेपालीहरुका लागि उपलब्ध गराउने गरी १० हजार एन ९५ माक्स सहयोग गरेको पाण्डेले बताए । उनकाअनुसार देशभर गरी दोस्रो लहरको कोरोना संक्रमण सुरुपछि उद्योगले २ लाख एन ९५ माक्स वितरण गरिसकेको छ ।

लेखकको सम्वन्धमा