March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

किन हुन्छ बारम्बार अघोषित लोडसेडिङ ?

पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । यस्तै समस्या देशका अन्य प्रमुख सहरमा समेत हुने गरेको उपभोक्ताले बताएका छन् ।

Advertisement

देशभर दैनिकजसो बत्ती आउने जाने गरेको गुनासो आउन थालेका छन् । बत्ती जाने आउने समस्या बढे पनि यसको दीर्घकालीन समाधान गर्न प्राधिकरण असफलजस्तै देखिएको छ ।

Advertisement

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य भने लोडसेडिङको समस्या नरहेको दाबी गर्छन् । ‘लाइन नै सर्ट भएर ट्रान्सफर्मर पट्केर कुनैबेला बत्ती गएको हुन सक्छ तर प्रणालीमा कुनै समस्या छैन । बत्ती जाने समस्या हुँदा हाम्रो भाइबर र वाट्सयापमा तुरुन्तै सूचना आउने गरेको छ । त्यसलाई हामी तुरुन्तै समाधानसमेत गर्ने गरेका छौं,’ कार्यकारी निर्देशन शाक्यले राजधानीसँग भने ।

अहिले हावाहुरी चल्ने प्रतिकूल मौसमका कारण प्रसारण लाइनमा सानो समस्या आउँदा पनि विद्युत आपूर्ति अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ । नेपालमा वैकल्पिक प्रसारण लाइन नहुँदा कुनै एउटा खण्डमा सानो समस्या आउँदा पनि सो लाइनले ओगटेको ठूलो क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध हुने गरेको प्राधिकरणको दाबी छ ।

यतिबेला हुरी–बतास, चट्याङ र असिनापानी पर्ने मौसम हो । प्रसारण लाइनको एउटा बाटोमा अवरोध हुँदा सीमित वैकल्पिक बाटोको प्रयोग गरेर विद्युत् आपूर्ति गर्नुपर्छ । एउटा लाइनको विद्युत् अर्को लाइनबाट पठाउन समय लाग्ने हुँदा केही समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको प्राधिकरण बताउँछ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।