April 18, 2025, Friday
२०८२ बैशाख ५

रोहिणीमा संचालनमा आयो ‘फूड बैंक’

भैरहवा- रोहिणी गाउँपालिकामा फूड बैंक स्थापना भएको छ । गाउँपालिका र लायन्स क्लब अफ रोहिणीको संयुक्त पहलमा फूड बैंक संचालन गरिएको हो । उक्त फूड बैंक आजबाट संचालनमा आएको छ ।

लकडाउनका कारण पालिकाभित्रका गरिब तथा विपन्न परिवारको चुल्हो निभ्न नपाओस् भन्ने उद्देश्यसाथ फूड बैंक स्थापना गरि संचालनमा ल्याइएको जनाइएको छ ।

Advertisement

‘कोरोना महामारीले गर्दा निषेधाज्ञा लम्बिँदै गएको छ । यसले विपन्न वर्गलाई छनकटार्न धौधौ भएको छ’, गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले भने, ‘यसैले खाद्यान्न सहयोग गर्ने गरी यस्तो अवधारणा कार्यान्वनयमा ल्याइएको हो ।’

सहयोगी मन भएका तर नगद राहत दिन नसक्नेहरुले फूड बैंकमा सहयोग पठाउन सक्ने गाउँपालिकाले जनाएको छ । हाल लायन्स क्लबको २५ प्रतिशत लगानी र परिचालन तथा गाउँपालिकाले ७५ प्रतिशत लगानी गरेको यादवले जानकारी दिए ।

‘सम्भावित संकटले अप्ठ्यारोमा पर्ने परिवारलाई जिन्सी सहयोग गर्ने हेतुले फूड बैंक स्थापना गरिएको हो’, अध्यक्ष यादवले भने । स्थानीय क्लबको जिम्मेवारीमा गाउँपालिकाको ७ वटै वडाका अति विपन्न परिवारले आवश्यकताका आधारमा राहत सामाग्री लैजान सक्ने लायन्स क्लब अफ रोहिणीका अध्यक्ष देवेन्द्र यादवले बताए ।

फूड बैंकमा दाल, चामल, गेडागुडी, मसला, तरकारी लगायतका दैनिक उपभोग्य खाद्यवस्तु दाताले जम्मा गर्न सक्ने क्लबका अध्यक्ष यादवले जनाए । फूड बैंक सञ्चालनका लागि गाउँपालिका तथा लायन्स क्लबले टास्क फोर्स समेत गठन गरेको छ ।

बैंकमा सहयोग प्राप्त गर्न समाजिक अभियान चलाउनेदेखि प्राप्त भएको खाद्यान्न गाउँपालिकाले छनोट गरेका विपन्नलाई बाँड्नेसम्मको जिम्मेवारी टास्क फोर्सलाई दिइएको छ । यसमा गाउँपालिकाका कर्मचारी र क्लबका स्वयंसेवकहरु परिचालन गरिने क्लबका अध्यक्ष यादवले बताए ।