सिद्धबाबामा सुरुङ मार्ग निर्माणको तयारी
रुपन्देही– पाल्पा र रुपन्देही जिल्लाको सीमाना पर्ने सिद्धार्थ राजमार्गस्थित सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउने तयारी थालिएको छ । यसका लागि आइतबार टेण्डर आह्वानसमेत भएको छ ।
अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै सहमति प्रदान गरेको थियो । अर्थको सहमतिअनुसार सडक विभागले आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आह्वान गरेको हो । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नु पर्ने भनिएको छ ।
गत मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आह्वान भएको सडक विभागका उपमहानिर्देशक विजय जैशीले जानकारी दिए ।
टेण्डर आह्वानसँगै सुरुङ मार्ग निर्माणले मूर्तरुप पाउने आशा गरिएको छ । सुरुङ मार्ग एक किलोमिटर १२६ मिटरको हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) राखिने जैशीले जानकारी दिए । ‘सुरुमा जाली राखेर यसलाई व्यवस्थित गरिने छ’, उनले भने ।
यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म गाडी चल्ने गर्छन् । सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ । हरेक वर्ष वर्षा याममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा ठूलोमात्रामा जनधनको क्षति हुने गरेको छ ।
गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ भने ६० भन्दा बढी सवारी साधन दुर्घटनामा परेर पुरिएका सडक विभागको तथ्यांक छ । वर्सेनि पहिरो खस्दा जनधनको क्षति भएपछि यहाँका स्थानीय, संघसंस्था, राजनीति दललगायतले सुरुमार्ग बनाउन माग गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस्