सिद्धार्थनगरलाई रोटरीद्वारा स्वास्थ्य उपकरण सहयोग
भैरहवा– रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले संयुक्त पहलमा हिमालयन डिस्टिलरीको सहकार्यमा सिद्धार्थनगर नगरपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।
क्लबको सहकार्यमा तीन थान अक्सिजन कन्सन्टेटर, पीपीई सेट ४० थान, अक्सिमिटर तीन थान र अक्सिजन रेगुलेटर तीन थान सहयोग गरेको रोटरी डिष्ट्रिक ३२९२ का जोन २० का असिस्टेन्ट गभर्नर राजकुमार गुप्ताले बताए । उनले भने, ‘कोरोना संक्रमितको उपचारमा स्वास्थ्य उपकरण अभाव नहोस् भनेर हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेका हौं ।’
शुक्रबार स्वास्थ्य उपकरण सिद्धार्थ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीलाई रोटरी क्लब अफ भैरहवाकातर्फबाट संजीब शर्मा रेग्मी, शैलेश कुमार पन्त र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका तर्फबाट खेम कार्की, जितेन्द्रनाथ शर्माले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा सिद्धार्थनगर–८ का अध्यक्ष राजनजंग राणा, १२ का अध्यक्ष करुन्जन श्रेष्ठ, वडा नम्बर १३ का अध्यक्ष सतिष प्रसाद मर्सानी र वडा नम्बर ५ का अध्यक्ष चेतबहादुर क्षेत्री पनि उपस्थित थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरासिनीले यो सहयोगले संक्रमितको उपचारमा थप सहजता हुने जनाए । यी दुई क्लबले यस अघि पनि नगरपालिकालाई अक्सिजन कन्सन्टेटर लगायतका स्वास्थ्य उपकरण र सामाग्री सहयोग गरेका थिए ।
प्रतिकृया दिनुहोस्