नेपालगञ्ज मेडिकल कलेजमा कोभिड उपचार निःशुल्क


बाँके – नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरले कोभिड युनिटमा बेड संख्या बढाउँदै उपचार निःशुल्क गराएको छ। अस्पतालले एक सय १५ वटा बेड सञ्चालन गरिरहेको थियो।
त्यसलाई बढाएर एक सय ३० बेड पुर्याएको छ। यसअघि ४५ बेडमा निःशुल्क उपचार चलिरहेको थियो। शुक्रबारदेखि एक सय ३० बेडमै सरकारी प्रोटोकलअनुसार निःशुल्क गरिएको छ।
अस्पतालका उपनिर्देशक डा. नितेश कनोडियाले सरकारी प्रोटोकलअनुसार एक सय ३० बेडमा निःशुल्क उपचार थालिएको बताए। उनका अनुसार अब कोभिडका बिरामीको उपचार निःशुल्क हुन्छ।
कोभिड हिरोको सम्मान पाएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले शिक्षण अस्पताल कोहलपुरमा कोभिडका बिरामीलाई अक्सिजन, बेड र उपचार निःशुल्क हुने बताए।
‘कोहलपुरमा पनि बेड संख्या बढाएर निःशुल्क उपचार थालिएको छ, कोभिडको व्यवस्थापनका लागि बर्दियाबाट तीन महिनाका लागि बाँकेमा सरुवा भएका जनस्वास्थ्य अधिकृत श्रेष्ठले भने, अब भेरी अस्पतालको लोड कम हुन्छ। सरकारी अस्पतालमा निशुल्क उपचार हुने भएकाले विरामीको चाप भेरीमा बढेको थियो।’ बाँकेमा अझै कोरोना संक्रमितको मृत्युदर घटेको छैन।
जिल्लावासीसँगै बाहिरबाट उपचार गराउन आउनेको दैनिक दर्जन आसपासमा मृत्यु भइरहेको छ। पछिल्लो समय संक्रमण दर भने घटेको पाइएको छ। बाँकेमा पीसीआर जाँच गरेका ८० प्रतिशतलाई संक्रमण भइरहेकोमा अहिले ४३ प्रतिशतमा झरेको भेरी अस्पताल, प्रशासनले जानकारी दिएको छ। बर्दियामा भने संक्रमणदर अझ बढेको देखिएको छ।

प्रतिकृया दिनुहोस्