March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

जेसीजद्वारा भीम अस्पताललाई अक्सिज सिलिण्डर सहयोग

भैरहवा- सामाजिक क्षेत्रमा क्रियाशील जेसीआई सिद्धार्थ, नेपालले भैरहवास्थित भीम अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अस्पताललाई जेसीजले १० थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।

Advertisement

वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई सिलिण्डर हस्तान्तरण गर्दै महामारी नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

Advertisement

ज्ञवालीले भने, ‘अहिले सबैले हातेमालो गरेर महामारी नियन्त्रणमा लाग्नुपर्छ, जसले जे सक्छ, त्यहीकाम गरौं, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरौं । संक्रमितको उपचारमा कमी हुन नदिऔं ।’ उनले जेसीजले सधै सामाजिक उत्तरदायित्वको काम गर्ने भएकाले महामारीको समयमा पनि यसलाई निरन्तरता दिएको बताए ।

अक्सिजन अभावमा अस्पतालका बेडमा विरामी छटपटाइरहेको जनाउँदै ज्ञवालीले अक्सिजनको सही व्यवस्थापन गर्न र अभाव हुन दिन नहुने बताए । ‘अक्सिजन अभावमा कसैको ज्यान जानु हुँदैन, सरकार, अस्पतालहरु, सामाजिक संघसंस्था मिलेर भए पनि अभाव हुन नदिन उपाय खोज्नुपर्छ । यसका लागि जेसीजले सबैसँग हातेमालो गर्न तयार छ’, उनले भने ।

उनले भीम अस्पतालमा अक्सिजन सिलिण्डर अभावमा विरामीको उपचारमा समस्या नहोस् र सहज उपचार पााउन भनेर सहयोगको सानो प्रयास गरेको जनाए । आगामी दिनमा पनि अस्पतालसँग सहकार्य गरी काम गर्ने बताए ।

अस्पताल विकास समिति अध्यक्ष भण्डारीले विषम परिस्थितिमा जेसीआई सिद्धार्थले अस्पतालसँग सहकार्य गरी मानवीय सेवामा लागेको भन्दै प्रशंसा गरे । निकट भविष्यमा अस्पतालले अक्सिजन प्लान्ट राख्ने योजना बनाएकाले त्यसमा पनि सहकार्य गर्न उनले जेसीजलाई आग्रह गरे । अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि जेसीआई सिद्धार्थका पूर्वअध्यक्ष लेखनाथ भट्टराईले सहजीकरण गरेका थिए ।