October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

सेनाको जहाजमार्फत् रुपन्देहीमा अक्सिजन आपूर्ति

अक्सिजन ल्याएर भैरहवा आएको नेपाली सेनाको जहाज । तस्बिरः पब्लिक कुरा

भैरहवा, जेठ १ । रुपन्देहीमा अक्सिजनको चरम अभाव भएपछि नेपाली सेनाको एअरलिफ्ट मार्फत् अक्सिजन आपूर्ति गरिएको छ ।

विराटनगरबाट सेनाको जहाजमार्फत् शनिबार दिउँसो ४ बजे गौतमबुद्ध विमानस्थलमा ६० सिलिण्डर अक्सिजन झारिएको हो । जिल्ला सुरक्षा समिति रुपन्देहीले केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र समक्ष अक्सिजन उपलब्ध गराइदिन माग गरेपछि सेनाको जाहाज मार्फत् अक्सिजन ल्याइएको प्रमुख जिल्ला अधिकार अस्मान तामाङले बताए ।

‘यहाँको उत्पादनले नधानेपछि अक्सिजन अभावमा कसैको ज्यान जोखिममा नपरोस् भनेर हामीले केन्द्रसँग अनुरोध गर्यौ । सोहीअनुसार अक्सिजन आपूर्ति भइरहेको छ’, उनले भने । अक्सिजन ल्याएर आएको जहाजमा रुपन्देहीबाट ६० खाली सिलिण्डर रिफिलका लागि विरामटनगर पठाइएको छ ।

उक्त सिलिन्डिर रिफिल गरेर सोही जहाजले आज नै रातिसम्म रुपन्देहीमा अक्सिजन आपूर्ति गर्ने तामाङले जनाए । ‘हामीले अक्सिजन ल्याएर आएको जहाजमा रिफिलका लागि खाली सिलिण्डर पठाएका छौं, उक्त सिलिण्डर रातिसम्म रिफिल गरेर जहाजमा ल्याउँछौं, त्यसपछि फेरि रिफिलका लागि पठाउँछौं’, उनले भने ।

जहाजमार्फत् दिउँसो ल्याइएको अक्सिजन सबै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । साँझ आउने अक्सिजन आवश्यकताका आधारमा अन्य अस्पतालहरुमा समेत पठाइने प्रशासनले जनाएको छ ।

गएको मंगलबार र बुधबार अक्सिजन अभावमा रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । अक्सिजन अभावमा संक्रमितको धमाधम मृत्यु हुन थालेपछि बुधबार साँझ सेनाको हेलिकोप्टर मार्फत् ४० सिलिण्डर अक्सिजन रुपन्देही झारिएको थियो । जिल्लामा तीनवटा ग्यास उद्योग भए पनि मागअनुसारको आपूर्ति हुन नसकेपछि शनिबार विराटनगरबाट अक्सिजन ल्याइएको हो ।