November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

संरक्षण अभावमा ओझेलमा तातोपानी क्षेत्र

रुकुम पूर्व, जेठ १ । रुकुम पूर्वमा रहेका तातोपानी क्षेत्रको वर्षका ४ महिना मानिसहरुको ठूलो भिडभाड हुन्छ, खोजी हुन्छ । बिहानैदेखि बेलुका अवेरसम्म नुहाउने, धुने तथा अरु कामका लागि पनि सर्वसाधारणहरु टाढाटाढाबाट तातोपानी क्षेत्रमा पुग्छन् ।

Advertisement

जाडो याममा तातोपानी क्षेत्रमा नुहाउनुपर्छ भन्ने चलन पूरानै पनि हो । कार्तिक, मंसिर, पुस र माघ महिनामा तातोपानीमा नुहाउन सजिलो हुने तथा तातोपानीकै कारण छालाजन्य रोग निको हुने भन्दै सर्वसाधारण तातोपानी क्षेत्र खोजीखोजी पुग्छन् ।

Advertisement

हिउँदका यी ४ महिना तातोपानी क्षेत्रमा नुहाउनेहरु हरेक दिन बढ्छन् । बालबालिका, किशोर, किशोरी, युवा तथा जेष्ठ नागरिकको रोजाई तातोपानी क्षेत्र पर्छ । हरेक तातोपानी क्षेत्र धार्मिक रुपमा पनि महत्वपूर्ण मान्निछन् । जति महिमा छ तर संरक्षण भने अभाव छ ।

जाडो याममा बेसरी खोजधाज हुने जिल्लाका ८ तातोपानी क्षेत्र यो समयमा भने सुनसान छन् । कसैको वास्तामा यी क्षेत्र परेका छैनन् । कोरोना कहरले सोधीखोजी प्रभावित भएको छ । अर्कातर्फ जाडोको समय बाहेक अरु समय यी क्षेत्र न सर्वसाधारणको वास्तामा छन् न यसको संरक्षणमा लाग्नुपर्ने सरोकारवालाको वास्तामा नै ।

आवश्यक पर्दा प्रयोग गर्ने र बाँकी समय वास्ता र हेरचाह नपुग्दा तातोपानी क्षेत्र संकटमा छन् । कतै खोलाले कटान गर्दै लिएको छ भने कतै पहिरोले पुरिँदै गएका छन् । यही वेवास्ता भएकै कारण सिस्ने गाउँपालिकाको पोखरास्थित तातोपानी क्षेत्रमा फोहोर बढेको छ । यही फोहोर बढेको कारण देखाउँदै यसमा हुने हरेक वर्षको धार्मिक यात्रा नै यो वर्ष रोकियो ।

संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारले तातोपानी संरक्षणका दिगो संरक्षणमा खासै वास्ता गरेका छैनन् । कुनै कुनै वर्ष विनियोजन गरिने केही बजेटले मात्रै तातोपानी क्षेत्रको पर्याप्त संरक्षण हुन सकिरहेको छैन ।

पुथाउत्तरगंगा गाउँपालिका–२, मा रल तातापानी, झार्लुङ तातोपानी, जुनाङ तातोपानी छ । ५ नम्बर वडाको रिमैजा तातोपानी, ६ नम्बर वडाको डिम्मुरगैरा तातोपानी र १३ नम्बर वडाको ओख्मामा पनि तातोपानी क्षेत्र छ । यसैगरी सिस्ने गाउँपालिका–४, स्थित पोखरा तातोपानी र भूमे गाउँपालिका–६, स्थित रिग्मा तातोपानी क्षेत्र छ ।

यी तातोपानी क्षेत्रमा संरक्षणको खासै पहल भएको छैन । यी सबै तातोपानी क्षेत्रमा प्रत्येक वर्षको माघ १ गते विशेष मेला लाग्छ भने तातोपानीमा नुहाएपछि पून्य प्राप्त हुने धार्मिक मान्यता पनि छ । माघ नुहाउन जानेहरु पनि तातोपानीमा नै जान्छन् । तर नुहाउनका लागि कुनै पनि तातोपानी क्षेत्र व्यवस्थित गरिएको छैन । धारा बनाइएको छैन । तातोपानी रहेको सानो पोखरीबाट पानी उबाएर नुहाउने गरिन्छ ।

‘यहाँ तातोपानीमा नुहाउनेहरु धेरै आउँछन्, तर नुहाउने ठाउँ व्यवस्थित नहुँदा भने मन खुम्च्याएजस्तै गर्छन्’, सिस्ने गाउँपालिका–४, का पदमबहादुर विकले भने । उनले तातोपानी संरक्षणमा पटकपटक आउने बजेटको काम तातोपानी क्षेत्रमा नदेखिएको बताए । यदि तातोपानीको क्षेत्रको संरक्षण गर्न सक्ने हो भने जिल्लामा पर्यटकको आइरो लाग्नेमा नकार्न सकिँदैन ।

सबै तहका सरकारको बेवास्ता हुँदा तातोपानी क्षेत्रको प्रचारप्रसार हुन सकेको छैन । म्याग्दीमा रहेको तातोपानी क्षेत्रमा बाह्रै महिना भीड हुन्छ । त्यहाँजस्तै रुकुम पूर्वमा रहेका तातोपानी पानी क्षेत्रको पनि संरक्षण र प्रचारप्रसार गर्ने हो भने यसले स्थानीय नागरिकको आयस्तर त बढाउँछ नै जिल्ला पर्यटकीय हव बन्न सक्ने व्यवसायी बताउँछन् ।