October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

पूर्वमन्त्री यादवले गरे भीम अस्पतालमा उपचाररत विरामीलाई पानी वितरण

भैरहवा, वैशाख ३१ । कोरोना भाइरस संक्रमित विरामी र उनीहरुका कुरुवालाई पूर्वमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ले पानी (मिनरल वाटर) वितरण गरेका छन् । शुक्रबार भीम अस्पतालमा पुगेर त्यहाँ उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै यादवले पानी वितरण गरेका हुन् ।

यादवले अस्पतालमा उपचाररत विरामी र कुरुवालाई गरेर ७० कार्टुन पानी वितरण गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए । ‘विरामीहरुले बेड र अक्सिजन नपाएर समस्या छ, यस्तो अवस्थामा मानवीय नाताले मैले उहाँहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए, पानीको समस्या नहोस् भनेर तत्काल आवश्यकता हेरेर पानी वितरण गरेको हुँ’, उनले भने ।

उनले विरामीको उपचारमा विशेष ध्यान दिनसमेत सरकारसँग आग्रह गरेका छन् । यस्तै, यादवले गरिब, दुखी, निमुखा र उपचारमा समस्या भएकाहरुलाई आर्थिक सहयोग गर्ने तयारीसमेत गरेको सुनाए ।

‘कतिपय तल्लो वर्गका नागरिकलाई औषधि उपचारमा समस्या भए, खाना र खाद्यान्नको समस्या भएमा मैले त्यस्ता परिवारको पहिचान गरी आर्थिक सहयोग गर्ने तयारी गरेको छु’, उनले भने ।

गाउँगाउँबाट गरिब तथा विपन्न वर्गका नागरिक भीम अस्पतालमा उपचार गर्न आउने भएकाले उनीहरुलाई धेरै समस्या हुने गरेको छ । यादवले अब दैनिकरुपमा अस्पतालमा पुगेर संक्रमितलाई भेट्ने र उनीहरुलाई आवश्यकताका आधारमा सहयोग गर्दै जाने जनाए ।