निषेधाज्ञामा फोननबाटै पशुपन्छीको उपचार

भैरहवा, वैशाख ३१ । पशुपन्छी बिरामी परे, उपचार जटिल बने, चिकित्सकीय सेवा लिन निषेधाज्ञाका कारण समस्या भए के गर्ने ? यस्तो अवस्थामा किसानहरुलाई फोनबाट पशु चिकित्सकहरुले उपचारका लागि परामर्श दिने भएका छन् ।
नेपाल भेटेरिनरी एशोसियसन लुम्बिनी प्रदेशले १२ वटा जिल्लामा ३७ जना पशु चिकित्सकमार्फत् निषेधाज्ञाको समयमा फोनबाटै सेवा दिने जनाएको छ । कोरोना भाइरसको पहिलो लहरमा अधिकांश किसानले पशुपन्छी उपचारमा समस्या भोगेका थिए ।

अहिले पुनः भाइरसको दोस्रो लहर फैलिरहेको र निषेधाज्ञाको समयावधि बढिरहेकाले उपचारमा सहज बनाउन परामर्श दिन थालेको नेपाल भेटेरिनरी एशोसियसन लुम्बिनी प्रदेशका उपाध्यक्ष डा. प्रवेज आलमले बताए ।
‘निषेधाज्ञाले सबै क्षेत्र ठप्प छ, यस्तोबेला पशुपन्छी विरामी परे किसानलाई समस्या हुन्छ । त्यसैले हामीले फोनबाटै किसानहरुलाई चिकित्सकीय परामर्शसहित अन्य आवश्यक प्राविधिक सल्लाह दिन सुरु गरेका छौं’, उनले भने ।
उनकाअनुसार फोनबाट हुने समस्या फोनबाटै समाधान गरिने छ । यदि समस्या समाधान भएन भने आवश्यकताका आधारमा पशु प्राविधिकहरु जनस्वास्थ्यका मापदण्ड पालना गरि किसानकै गोठमा गएर पशुपन्छीको उपचार गर्ने छन् । निषेधाज्ञामा सेवा प्रवाहमा कमी आउन नदिन एशोसिएसनले यस्तो निर्णय गरेको डा.आलमले बताए ।
सेवा प्रवाहबाट जनधनको संरक्षण र सुरक्षित पशुजन्य खाद्य पदार्थको सुनिश्चितता हुने चिकित्सकहरुले जनाएका छन् । महामारीको बेला निःशुल्क भेटेनरी सेवा सञ्चालन हुने भएपछि किसानहरु उत्साहित छन् ।
प्रतिकृया दिनुहोस्