संक्रमित र कुरुवालाई ग्रिन सिटीको निःशुल्क खाना


भैरहवा, बैशाख ३० । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले कोरोना संक्रमित र विरामी कुरुवालाई निःशुल्क खाना वितरण गरिरहेको छ । ४ दिनयता निरन्तर खाना वितरण गरिरहेको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले बताए ।
क्लबले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) मा उपचाररत संक्रमित र कुरुवालाई खाना वितरण गरेको हो । क्लबका सदस्यहरु अस्पताल परिसरमा पुगेर दैनिक बिहानको खाना वितरण गर्दै आएका छन् ।
‘हामीले विरामीलाई र कुरुवालाई खाना खानमा समस्या नहोस् भनेर खाना वितरण गरिरहेका छौं, संकटको बेला मानवीय सेवा गर्नु सबैको दायित्व भएकाले क्लबकोतर्फबाट यो भूमिका खेलेका हौं’, उपाध्यक्ष क्षेत्रीले भने । उनकाअनुसार चार दिनमा ६ सय जनाभन्दा बढीलाई निःशुल्क खाना वितरण गरिएको छ ।
कोरोना संक्रमण तीव्र बन्दै जाँदा रुपन्देहीका अस्पतालहरु विरामीले भरिभराउ छन् । संक्रमितले बेड र अक्सिजन नपाएर उस्तै समस्या छ । धेरैजसो अस्पतालमा संक्रमितको भुइँमै राखेर उपचार भइरहेको छ । ‘यस्तोबेला कुरुवाले आफूले खाना खाने समय त पाउँदैनन् नै बिरामीलाई समेत खाना खान दिन पाउँदैनन् । त्यसैले हामीले संक्रमित र कुरुवालाई लक्षित गरेर खाना वितरण गरेका हौं’, क्लबका अध्यक्ष शिवनाथ गुप्ताले भने । संक्रमितको हेरचाह गर्नुपर्ने भएकाले कुरुवालाई पनि जहाँतही खाना खान समस्या छ ।
कतिपय विपन्न परिवारले त अस्पतालमा खाना खान समेत पाएका छैनन् । ‘अवस्था भयानक छ, माथिल्लो वर्गकाले खाने व्यवस्था भए पनि तल्लो वर्गलाई निकै समस्या छ, हामीले खाना खुवाउन सुरु गरेपछि धेरैलाई राहत महसुस भएको छ’, गुप्ता भन्छन् । अर्कातर्फ अस्पतालका नजिक रहेका होटल तथा रेष्टुरेन्टसमेत निषेधाज्ञाका कारण बन्द छन् । यसले गर्दा विरामी र कुरुवालाई खाना खानै निकै समस्या हुने गरेको छ ।

क्लबले दैनिक बिहानको खाना पकाउनका लागि युसिएमएस नजिकैका एक स्थानीयलाई जिम्मेवारी दिएको छ । खाना पाकेपछि प्याकिङ गरिन्छ । त्यसपछि क्लबका सदस्यहरु अस्पताल परिसरमा पुगेर खाना वितरण गर्ने गरेका छन् । क्लबले वितरण गर्ने खाना खानका लागि दैनिक करिब १५० देखि २ सय जनासम्म आउने गरेका छन् ।
‘हामीले संक्रमित र कुरुवालाई शुद्ध शाकाहारी खाना खान दिने गरेका छौं’, संस्थाकी डाइरेक्टर युथ संगीता सिंह जिसीले भनिन्, ‘खानामा दाल, भात, हरियो तरकारी र पिउने पानी उपलब्ध गराउँदै आएका छौं ।’ कोरोना संक्रमण बढ्दै जाँदा रुपन्देहीमा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यसले संक्रमित विपन्न परिवारलाई झनै समस्या पर्ने गरेको छ ।
भैरहवाका मनकारी संघसंस्था, व्यवसायी तथा स्थानीयले संक्रमण बढ्दै जाँदा खाना वितरण, खाद्यान्न, स्वास्थ्य सामाग्री सहयोग तथा निजी सवारीलाई कोभिड एम्बुलेन्स बनाएर संचालन गर्दै आएका छन् । यसले गरिब तथा विपन्न वर्गलाई ठूलो राहत मिलेको छ ।
प्रतिकृया दिनुहोस्