March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा साढेसात लाख जम्मा

बुटवल, बैशाख ३० । ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता आएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले उक्त कोष स्थापना गरेको थियो ।

Advertisement

महासंघ अध्यक्ष रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले विभिन्न व्यक्ति, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, विदेशमा रहेका नेपाली एंव पत्रकारिता क्षेत्रका व्यक्तिले कोषमा आर्थिक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए । ‘कोषमा स्वतस्फूर्त रुपमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरिरहुनभएको छ’, अध्यक्ष पोखरेलले भने ।

Advertisement

अहिलेसम्म साढे दुई लाख रुपैयाँ महासंघको कोषमा जम्मा भइसकेको छ । बाँकी रकम पनि केही दिनमै जम्मा हुने जनाइएको छ । कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरु संक्रमित हुनेक्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष पोखरेलले जनाए ।

महासंघ रुपन्देहीको बैशाख २७ गते बसेको अनलाइन बैठकले उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’ स्थापना गरेको थियो । कोष स्थापना गरिएको ३ दिनको अवधिमै सोंचे भन्दा सहज रुपमा रकम जम्मा भएको महासंघका उपाध्यक्ष तथा कोषका संयोजक ढकालले जानकारी दिए ।

कोरोना महामारीले पत्रकारिता क्षेत्रमा थुप्रै चुनौती खडा गरेकाले यो पटक रुपन्देहीका पत्रकारलाई केही हदसम्म भए पनि कोषमार्फत काम गर्न खोजेको उपाध्यक्ष अमृता अनमोलले बताइन् । पत्रकारको उपचारमा सरकार तथा विभिन्न अस्पतालसँग समन्वय र सहकार्य गर्ने तथा त्यसपछि पत्रकारहरुलाई पर्ने अप्ठ्यारोमा कोषको रकमलाई प्रयोग गरिने जनाइएको छ ।

कोरोनाको दोस्रो लहरबाट अहिलेसम्म रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएको सचिव विनोद परियारले बताए । यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरुका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरि स्वास्थ्य सुरक्षा सामाग्री समेत वितरण गरिसकेको छ ।

कोषमा सहयोग गर्ने व्यक्तिहरुको नाम केही दिनमा सार्वजनिक गर्ने कोषाध्यक्ष संजय सौगातले बताए । पत्रकारको उपचार, राहात तथा आपतकालीन अवस्थामा प्रयोग गरिने उक्त कोषमा सहयोग गर्न समेत महासंघले आग्रह गरेको छ ।

कोषमा रकम जम्मा गर्न चाहनेले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुटवल शाखामा रहेको महासंघको बैंक खाता नम्बरमा ००१००१००००५०३३०००००१ जम्मा गर्न सकिने छ ।