April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

क्षमता घटाए सिमेन्ट उद्योगले

भैरहवा, वैशाख ३० । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ ।

Advertisement

संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन् भने सञ्चालनमा आएका ७५ प्रतिशत उद्योगले आधा क्षमतामा उत्पादन गरिरहेका छन् ।

Advertisement

डन्डी उद्योगहरूले पनि पूर्ण क्षमतालाई घटाएर दैनिक १०÷१२ घण्टा उत्पादन थालेका छन् । उद्योग व्यवसायभन्दा पनि मानिसको जीवन रक्षा र संक्रमणरहित रहनु नै प्रमुख चुनौती बनेका बेला उत्पादनततर्फ त्यति ध्यान पुर्याउन नसकिएको उद्योगी व्यवसायीहरू बताउँछन् ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले निषेधाज्ञा जारी भएसँगै उत्पादन र माग ह्वात्तै घटेको जानकारी दिए । ‘अहिले उत्पादन क्षमता घटाएरै भए पनि केही उद्योगहरू चलिरहेका छन्,’ उनले भने, ‘कामदार नै नभएको र भएकामा पनि संक्रमण देखिँदा २५ प्रतिशतजति उद्योग बन्द भएका छन् ।’

हालको अवस्थामा साइटमा गएर काम गर्न डराएको र निर्माण पनि सुस्त भएकाले सिमेन्ट डन्डीको माग पनि कम भइसकेको उनले बताए । निषेधाज्ञाकै बीचमा यी निर्माण सामग्रीको माग ५० प्रतिशतजति घटेको अनुमान उनको छ । अहिले खानी उद्योगहरू पनि बन्द भएका छन् ।

खानी उद्योग बन्द हुँदा क्लिंकर आयात हुने सम्भावना देखिएको थापाले बताए । लुम्बिनी प्रदेशका सिमेन्ट उद्योगहरुले पनि आफ्नो दैनिक क्षमता ह्वात्तै घटाएका छन् । प्रदेशमा डेढ दर्जन बढी सिमेन्ट उद्योगहरु छन् । खासगरी, रुपन्देही र कपिलवस्तु बढी उद्योग छन् ।

यसैगरी दांग, बाँके, नवलपरासी मा पनि सिमोन्ट उद्योग संचालनमा छन् । अहिले कोभिडका कारण निर्माण सामाग्री प्रयोगमा आएको छैन । सिमेन्टसँगै छड तथा डण्डी उद्योगहरुले पनि क्षमता घटाएका छन् । कतिपय यस्ता उद्योग बन्द भइसकेका छन् ।

उद्योगीले मानवजातिको जीवन रक्षा मुख्य भएको र विकास निर्माणमा अवरोध आउँदा उद्योगहरुले क्षमता घटाएको बताउँछन् । निषेधाज्ञा थप भएकाले अब धेरै उद्योगले उत्पादन बन्द गर्न सक्ने सिमेन्ट उत्पादक संघले जनाएको छ ।