June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

अक्सिजन अभावपछि रुपन्देहीमा सेनाको हेलिकोप्टरबाट अक्सिजन ल्याइयो

अक्सिजनसहितका भरी सिलिन्डर ल्याएर बुधबार साँझ गौतमबुद्ध विमानस्थलमा आएको नेपाली सेनाको हेलिकोप्टर । तस्बीरः माधव ढुंगाना

भैरहवा, वैशाख २९ । चरम अक्सिजन अभाव भएपछि रुपन्देहीमा हेलिकोप्टर मार्फत् केही थान अक्सिजन सिलिन्डर ल्याइएको छ ।
केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र समक्ष जिल्ला सुरक्षा समिति रुपन्देहीले अक्सिजन उपलब्ध गराइदिन माग गरेपछि सिमरा र भरतपुरबाट हेलिकोप्टरमार्फत् अक्सिजन ल्याइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

Advertisement

अक्सिजनको चरम अभावले बुधबार रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत कोभिड संक्रमित बिरामीको मृत्यु भएको थियो । अक्सिजन अभावमा धमाधम संक्रमितको मृत्यु हुनथालेपछि आज साँझ अक्सिजन गौतमबुद्ध विमानस्थलमा झारिएको हो ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार नेपाली सेनाको हेलिकोप्टर मार्फत् अहिले साँझ साढे ७ बजेतिर ४० थान अक्सिजनको सिलिण्डर भैरहवास्थित गौतम बुद्ध विमानस्थल परिसरमा झारिएको हो ।

उनकाअनुसार यहाँ ल्याइएका अधिकांश अक्सिजन सिलिन्डर बुटवलस्थित लुम्बिनी प्रादेशिक कोभिड अस्पतालमा लगिने छ । केही थान भैरहवास्थित भीम अस्पतालमा उपलब्ध गराइने छ ।

उनका अनुसार, प्रादेशिक कोराना अस्पतालमा १ सय १६ जना बिरामीलाइ अक्सिजनको अभाव हुन थालेको छ । भीम अस्पतालमा पनि ७० भन्दा धेरै विरामीले अक्सिजन लिइरहेका छन् । उनीहरुलाई पनि अक्सिजन अभाव हुनसक्ने सुरक्षा निकायको आँकलन छ ।

लुम्बिनी प्रादेशिक कोरोना अस्पतालका लागि अक्सिजन उपलब्ध गराउन सहजिकरण गरेका बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले बिहीवार पनि अन्य जिल्लाबाट हेलिकोप्टरमार्फत रुपन्देहीका विरामीका लागि अक्सिजन ल्याउन पहल गरिने बताए ।

बुधबार अक्सिजन नपाउँदा भैरहवास्थित भीम अस्पतालमा १५ मिनेटको फरकमा ३ जनाको मृत्यु भएको थियो । यस्तै, आज नै बुटवलमा अक्सिजनको अभावमा ५ जनाको मृत्यु भएको थियो । अक्सिजन अभावमा आज मात्रै रुपन्देहीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।