March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

तरकारी नविकेपछि गाईभैंसीलाई खुवाउँदै रुपन्देहीका किसान, भारतबात आयत रोकिएन

तरकारी बिक्री नभएपछि गाईभैँसीलाई खुवाउँदै रुपन्देहीका किसान । तस्बिरः पब्लिक कुरा

भैरहवा, वैशाख २८ । तिलोत्तमा नगरपालिका–१४, जितपुरका जितबहादुर केवटले केही दिन यता पालेका गाईभैँसीको खानकीमा परिवर्तन गरेका छन् । दैनिक घाँस र दाना पानी खानेकुरामा हुन्थ्यो । अहिले थरिथरिका तरकारी खान दिएका छन् ।
निषेधाज्ञाका कारण तरकारी बिक्री नभएपछि उनले यसो गरेका हुन् । उनी त एक प्रतिनिधि पात्र हुन् । उनी जस्ता रुपन्देहीका धेरै किसानले गाईभैँसीलाई तरकारी खुवाउन थालेका छन् । ‘तरकारी बजारमा बेच्न नपाएर खेतबारीबाटै बेचिरहेका छौँ, अलिअलि मात्र बिक्छ, पुरै बिक्दैन’, केवटले भने । नबिकेको सबै तरकारी गाईभैंसीलाई खुवाउने गरेको उनले सुनाए ।

Advertisement

खेतबारीमा तरकारी बिक्री गर्दै रुपन्देहीका किसान । तस्बिरः पब्लिक कुरा

जितपुरकै अर्का किसान पन्नेलाल केवटले तीन बिघा क्षेत्रफलमा तरकारी खेती गर्छन् । दैनिक करिब दुई कुन्टल तरकारी उत्पादन हुन्छ । सामान्य अवस्थामा हाटबजार तथा बुटवल र भैरहवामा रहेका थोक बजारमा तरकारी बिक्री हुन्थ्यो । अहिले बजार बन्द छ । उपभोक्ता र केही व्यापारीले खेतबारीमै गएर तरकारी लाने गरेका छन् । तर, त्यो पर्याप्त छैन् ।
‘केही व्यापारी खरिदका लागि आउँछन्, तर लागत मूल्य भन्दा कम मूल्य दिन्छन्, फाल्न भन्दा उनीहरुले भनेको मूल्यमा दिन्छु’, पन्नेलालले गुनासो गरे । तरकारी बिक्री नभएपछि केहीले खेतीनै मासेका छन् त कोहीको बारीमै छिप्पिँदै र कुहिँदै गएको छ । किसानहरुले लागत मूल्य भन्दा सस्तोमा तरकारी बिक्री गरिरहेका छन् । तर बजारमा खरिद बिक्रीको अन्तर धेरै छ । उपभोक्तासम्म पुग्दा मूल्य तेब्बरसम्म बढेको छ ।
किसानले बजारीकरण र व्यवस्थापनमा सहज हुनुपर्ने माग गरेका छन् । निषेधाज्ञाकाबीच भारतबाट दैनिक ट्रकका ट्रक तरकारी सहजै आयात भैरहेको छ । तर, नेपाली किसानहरुले उत्पादन गरेको तरकारी ढुवानी गर्न पाएका छैनन् । बिक्री नभएपछि अधिकांश किसानको तरकारी बारीमा छिप्पिँदै तथा कुहिँदै गएको हो ।

Advertisement

गाइभैँसीलाई खुवाउन टमाटर टिप्दै किसान पन्नेलाल केवट । तस्बिरः पब्लिक कुरा

किसानहरुले कृषि एम्बुलेन्सको माग गर्दा सुनुवाई नभएको गुनासो गरेका छन् । बजारमा केही बिचौलियाहरुले कृषि एम्बुलेन्सको अनुमति लिएर तरकारी बिक्री गरिरहेका छन् ।
रुपन्देही हरियो तरकारीमा आत्मनिर्भर छ । यहाँ उत्पादन भएको तरकारी अन्य जिल्लामा पनि जाने गरेको थियो । अहिलेको असहज परिस्थितिले जिल्लामै खपत हुन सकेको छैन ।
यस्तो अवस्थामा बेलहिया नाका भएर दैनिक करिब ४० गाडी भारतीय तरकारी नेपाल आयात भैरहेको छ । गएको एक हप्तामा हरियो तरकारी र फलफूल आयातमा एक अर्ब ६९ करोड ८४ लाख बढी राजस्व भैरहवा भन्सारले संकलन गरेको छ । भारतबाट दैनिक सरदरमा साढे दुई लाख केजी हरियो तरकारी नेपाल आयात भैरहेको हुने गरेको भन्सार तथ्यांक छ ।

भैरहवाका व्यापारीले भारतबाट आयातित तरकारी बिक्री गर्दै । तस्बिरः पब्लिक कुरा

ढुवानीमा रोक नलगाउँदा स्वदेशी तरकारी बारीमै कुहिने तर भारतीय तरकारी हरेक उपभोक्ताको भान्सामा पुगेको छ । स्थानीय प्रशासनले आयातितभन्दा स्वदेशमै उत्पादित तरकारीलाई बिक्रीको अनुमति दिनु पर्ने किसानको माग छ ।
‘जनस्वास्थ्यका मापदण्डमा भने कडाई गरेर भए पनि भारतीय तरकारीलाई प्रतिस्थापन गरेर नेपाली तरकारी विक्रीको सहज वातावरण बनाउनुपर्छ’, किसान पन्नलेलालले भने, ‘होइन भने करौडौ लगानी गरेर उब्जाएको किसानको तरकारी कुहिएरै जान्छ ।’