भैरहवामा ‘फूड बैंक’ स्थापना, विपन्नलाई दश दिन पुग्ने खाद्यान्न दिइने


भैरहवाः रुपन्देहीको भैरहवामा ‘फूड बैंक’ स्थापना भएको छ । कोभिड–१९ को महामारीबाट प्रभावित विपन्न परिवार र नागरिकलाई लक्षित गरी रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवाको प्रहरी टोलमा ‘फूड बैंक’ संचालनमा ल्याएको हो ।
फूड बैंकमार्फत् गरिब, दुखी, विपन्न र दैनिक ज्यालादारी गर्ने, दैनिक छाक टार्न समस्यामा परेका परिवार र नागरिकलाई कम्तिमा १० दिन पुग्ने गरी निःशुल्क खाद्यान्न उपलब्ध गराइने छ । क्बलका संस्थापक अध्यक्ष बिमल सेन्चुरीले कोरोना महामारी तीव्र फैलिएको र निषेधाज्ञाका कारण धेरै निम्न वर्गका परिवारलाई छाक टार्न समस्या भएकाले फूड बैंकमार्फत् सहयोग अभियान चलाइएको जानकारी दिए ।
‘उद्योग, कलकारखान, विकास निर्माण सबै ठप्प छन्, ज्यालादारी गरेर खाने तल्लो वर्गलाई दैनिकी चलाउन हम्मेहम्मे परेको छ । मानवीय नाताले हामीले अग्रसरता दिनुपर्छ भनेर क्लबमार्फत् खाद्यान्न वितरण सुरु गरेका छौं’, उनले भने ।
क्लबले विपन्न परिवारलाई १० दिनका लागि पुग्ने दाल, चामल, तेल, स्वाविन, नुन र चिउरा उपलब्ध गराउन सुरु गरेको छ । यस्तै, स्वास्थ्य सुरक्षाका लागि भन्दै माक्स पनि उपलब्ध गराउने छ । पहिलो दिन १२ परिवारलाई खाद्यान्न सहयोग गरिएको क्लबका वर्ष २०२०/०२१ का अध्यक्ष हिराबहादुर शाहले बताए । उनले यो समाज सेवालाई निरन्तरता दिइने जनाए ।
क्लबले फूड बैंकमा आएर खाद्यान्न लैजान नसक्ने परिवारका लागि घर–घरमै पुगेर सहयोग उपलब्ध गराउने छ । यसका लागि क्लबका कोषाध्यक्ष कृष्ण अधिकारी र सदस्य धर्मवीर शर्मालाई खटाएको छ । ‘हामीले क्लबको योजनाअनुसार खाद्यान्न आवश्यक पर्ने घरपरिवारहरुलाई दैनिक रुपमा खटेर घरमै पुगेर खाद्यान्न उपलब्ध गराउने छौं । कोही पनि नागरिक भोकले तड्पिन दिँदैनौं’, शर्माले भने ।
सहयोग उपलब्ध गराउनका लागि क्लबले फूड बैंकमा खाद्य सामाग्री जम्मा गरेर राखेको छ । ‘हामीले यही फूड बैंकमा जम्मा गरेको सामाग्री वितरण गनेछौं । कोही मनकारी मनहरुले सहयोग गर्न चाहानुहुन्छ भने यहँ बैंकमा आएर खाद्यान्न जम्मा गर्न सक्नुहुनेछ । फूड बैंकमा जम्मा खाद्यान्न हामीले वितरण गर्छौ’, क्लबका अध्यक्ष शाहले भने ।
सोमबार फूड बैंकको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पायडेयले महामारीका बेला सहयोगी हातहरुको मुलुकका लागि खाँचो भएको बताए । उनले फूड बैंकमार्फत् धेरै विपन्नको छाक टर्ने बताउँदै मानवीय सेवामा निरन्तर लाग्न क्लबका सदस्यहरुलाई आग्रह गरे ।
‘अहिले सबैको ध्यान कोरोना रोकथाममा छ, तर योसँगै विपन्नले रोजगारी गुमाएका छन्, उनीहरुलाई साँझविहान गुजारा चलाउन समस्या छ, त्यसलै यो फूड बैंकले ती नागरिकको छाक गुजार्न सहयोग पुग्नेछ’, उनले भने । क्लबले आइतबार पनि भैरहवास्थित भीम अस्पतालमा १५० जनालाई निःशुल्क खाना वितरण गरेको थियो ।
प्रतिकृया दिनुहोस्