यस पटकको दशैंमा मुस्ताङबाट भेडाच्याङ्ग्राको आपूर्ति घट्ने



मुस्ताङ–दशैं नजिकिँदै गर्दा नेपाली बजारमा भेडाच्याङ्ग्राको माग बढ्न थाले पनि यस वर्ष आपूर्ति भने घट्ने भएको छ । बाढीपहिरो, सडक अवरोध, प्रतिकूल मौसम र हिमाली क्षेत्रमा भएको भारी हिमपातका कारण मुस्ताङबाट विगतको तुलनामा करिब ५ हजार कम सँख्यामा भेडाच्याङ्ग्रा बजारमा आउने भएका हुन् ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष मुस्ताङसहित डोल्पा र कोरला नाकाबाट गरी करिब १३ हजार भेडाच्याङ्ग्रा दशैंका लागि बजारमा पुग्ने अनुमान गरिएको छ । गत वर्ष मुस्ताङबाट मात्रै करिब १८ हजार भेडाच्याङ्ग्रा बजारकालागि बाहिरिएका थिए ।
यस वर्ष हालसम्म करिब १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी बजार पठाइएको कार्यालयले जनाएको छ । मुस्ताङका कृषकबाट करिब ५ हजार र छिमेकी जिल्ला डोल्पाबाट थप ५ हजार भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएको जनाइएको छ । कोरला नाकाबाट करिब ३ हजार भेडाच्याङ्ग्रा आउने अनुमान छ ।
कार्यालय प्रमुख डा.लालमणि अर्यालले प्राकृतिक विपत्तिका कारण गोठमै उत्पादन भएका भेडाच्याङ्ग्रा बिक्रीका लागि बजारसम्म पुर्याउन समस्या भएको बताए । उनका अनुसार, डोल्पामा भारी हिमपात हुँदा त्यहाँबाट विगतको तुलनामा कम भेडाच्याङ्ग्रा मुस्ताङ भित्रिएका छन् । मौसम अनुकूल भएमा तिहारलाई लक्षित गरेर थप बिक्री हुन सक्ने अनुमान छ ।
मुस्ताङ बाहिरका जिल्लाबाट भेडाच्याङ्ग्रा खरिद गर्न आउने व्यापारीलाई सडक अवरुद्ध हुँदा गोठ तथा चरन क्षेत्रबाट पशु बजारसम्म ल्याउन कठिनाइ भएको कृषकहरूको भनाइ छ । गत वर्ष भेडाच्याङ्ग्रा बिक्रीबाट मुस्ताङका कृषकहरूले करिब ३६ करोड रुपैयाँ आम्दानी गरेका थिए ।
चरन क्षेत्रमा गोठ बनाएर गोठालाको जिम्मामा च्याङ्ग्रा छाड्ने गरिएको भए पनि हिउँचितुवा र ब्याँसोबाट जोगाउँदै हुर्काउनुपर्ने समस्या किसानलाई छ । त्यसैमाथि बिक्रीका लागि सदरमुकाम जोमसोमसम्म ल्याउनुपर्ने हुँदा कृषकलाई थप असहज भएको छ ।
बाढीपहिरोका कारण देशभर चाडपर्वको रौनक प्रभावित हुनुका साथै मुख्य उपभोक्ता बजारसँग जोडिने सडक सञ्जालमा आएको अवरोधले पनि व्यापारमा असर गरेको व्यवसायी तथा कृषकहरू बताउँछन् । हिमाली क्षेत्रमा भारी वर्षासँगै बाक्लो हिमपात हुँदा गोठमा रहेका भेडाच्याङ्ग्रा बिक्रीका लागि निकाल्नसमेत समस्या भएको छ ।
कठोर हिमाली हावापानीमा हुर्किने र लेकाली क्षेत्रका जडीबुटी तथा घाँस खाने भएकाले मुस्ताङका भेडाच्याङ्ग्राको मासु दसैं–तिहारमा विशेष रोजाइमा पर्ने गरेको छ । माग उच्च रहेको तर आपूर्ति घट्दा बजारमा यसको मूल्यसमेत बढ्न सक्ने संभावना देखिएको छ ।








प्रतिकृया दिनुहोस्