November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

विद्युतीय ठेक्का प्रक्रिया रोकिएपछि पारदर्शिताको चिन्ता

Advertisement

भैरहवा– सरकारले विद्युतीय ठेक्का (इ–टेन्डर) प्रक्रिया तत्कालका लागि स्थगित गरेपछि ‘बाहुबली’ परम्परा दोहोरिने चिन्ता थपिएको छ । मुलुकभर ठेक्का प्रक्रिया पारदर्शी तुल्याउन र अनावश्यक बल प्रयोग रोक्न सरकारले ई–टेन्डर अनिवार्य गरेको थियो ।

Advertisement

सरकारले तत्कालका लागि ई–टेन्डरको साटो पुरानै कागजी प्रक्रियालाई निरन्तरता दिएपछि निर्माण व्यवसायी चिन्तित बनेका हुन् । ई–टेन्डर लागू गर्दा ठेक्का हत्याउन गरिने बल प्रयोग र गुण्डागर्दीमा कमी आएको थियो । अहिले पुरानै कागजी परम्परा सुरु भएपछि पुनः बाहुबलीको प्रयोग सुरु भइसकेको एक निर्माण व्यवसायीले बताए ।

कागजी प्रक्रिया सुरु भए लगत्तै दुई साता अघि रुकुम पूर्वमा ठेक्का पक्षमा पार्न दुई समूहबीच कुटाकुट भएको थियो । ई–टेन्डर लागू गरेपछि यस्ता घटना सुनिएका थिएनन् । गुल्मीमा पनि आशयपत्र जारी भइसकेका ठेक्का रद्ध गरिएको थियो । सडक पूर्वाधार विकास कार्यालय गुल्मीले आशयपत्र जारी गरिसकेका १० ठेक्का रद्ध गरेको हो ।

गत भदौं २२ गते सूचना जारी गरेर ठेक्का आव्हान गरिएकोमा असोज ७ गते शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गरिएको थियो । कार्यालय प्रमुख दीपक खड्काले जारी गरेको उक्त आशयपत्रमा २० लाख रुपैयाँका ४, १५ लाखका ५ र १० लाखका एक ठेक्का रहेका थिए । यस विषयमा कार्यालयमा उजुरी परेपछि आशयपत्र जारी भएपनि ठेक्का रद्ध गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी लोकेन्द्र पुनका अनुसार १० वटा ठेक्का रद्ध गरिएका हुन् ।

मिलेमोतोमा निर्माण दरभाउपत्र पेश गरेको भन्ने उजुरीका आधारमा पहिलेको ठेक्का र अहिलेको ठेक्का तुलना गर्दा निर्माण कम्पनीबीच मिलेमतोे देखिएपछि ठेक्का रद्ध हुन पुगेको हो । यी उदाहरण मात्र हुन् । अहिले मुलुकभर नै कागजी प्रक्रिया अघि बढाइदा ठेक्कामा मिलोमतो, खिचातानी, गुण्डागर्दी बढ्ने चिन्ता बढेको छ । बिगतमा पनि एक पक्षले अर्कोलाई बल प्रयोग गरेर ठेक्का प्राप्ती गर्न नदिने घटना हुँदै आएका थिए ।