October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

गौतम बुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा बन्यो ‘पीडादायी कथा’ जस्तै

Advertisement

भैरहवा– हरेक दिन कतै अन्तर्राष्ट्रिय ठूलो बोइङ जहाज भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिहाल्छन् की भनेर उद्योगी–व्यापारी र रुपन्देहीबासीले आकाश तिर आँखा डुलाउँछन् । तर, त्यो कल्पना जस्तै भएको छ । राज्यको ३५ अर्ब रुपैयाँ लगानीमा तयार भएको यो विमानस्थल सञ्चालनमा आउने छाँटकाँट भने कुनै छैन । उद्घाटन भएको साढे चार वर्ष पुगेको छ । विमानस्थल भने नियमित अन्तर्राष्ट्रिय उडानको भरपर्दो गन्तव्य बन्न सकेको छैन । विमानस्थललाई केन्द्रमा राखेर निजी क्षेत्रले होटल, पर्यटन तथा सानाठूला उद्योगमा गरेको लगानी दोब्बर बढी रहेको व्यवसायीहरुको दाबी छ । तर, लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानीबाट अपेक्षित प्रतिफल आउन नसकेको भन्दै निजी क्षेत्र चरम निराशामा रहेको सोट्टो नेपाल लुम्बिनीका अध्यक्ष संजय बजिमय बताउँछन् ।

Advertisement

विमानस्थल सञ्चालनमा आएदेखि नै यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान गराउन व्यवसायीहरुले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । लौन सरकार एउटा भए पनि जहाज चलाइदेउ भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा व्यवसायीहरुले हारगुहार गरेका थिए । यसबीचमा केही समय विभिन्न वायुसेवा कम्पनीका उडान भए, तर ती निरन्तर हुन सकेनन् ।

उडान नियमित गराउन निजी क्षेत्रले गरेको आन्दोलन, धर्ना, ज्ञापनपत्र र विभिन्न तहका सरकारी निकायसँगको छलफल व्यर्थ बन्यो । ‘यस्ता दवाव राज्यसत्ताले सुने पनि कानमा तेल हालेर बस्यो । जेनजी आन्दोलनपछि रास्वपा नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा केही आशा थियो । तर, त्यो आशा पनि वर्तमान सरकारबाट पूरा नहुँदा निजी क्षेत्र निरास भएको छ’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य भन्छन्, ‘यति धेरै सम्भावना बोकेको विमानस्थलमा कम्तिमा एउटा जहाज त सरकारले चाहेमा चलाउन सक्छ, चाहानै नभएको हामीलाई लागेको छ ।’

विमानस्थलको अवस्था अहिले यति सुनसान बनेको छ कि यहाँ अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा आफैंमा एउटा पीडादायी कथा बनेको छ । आन्तरिक उडानका क्रममा ठूलो जहाज आकाशमा देखिँदा समेत रुपन्देहीबासीले कतै अन्तर्राष्ट्रिय उडानको जहाज त आइरहेको छैन भनेर आकाशतर्फ हेर्ने अवस्था बनेको छ । ‘कुनै समय दैनिक ८–१० वटा ठूला अन्तर्राष्ट्रिय जहाज आउने र लुम्बिनीको पर्यटन बजार गुल्जार हुने सपना देखेका स्थानीय व्यवसायी र सर्वसाधारण अहिले त्यो आशा गर्नसमेत छाड्दै गएका छन्’, उनले भने ।

साढे चार वर्षअघि सञ्चालनमा आएको विमानस्थलबाट हालसम्म ६९ हजार ३ सय ७७ यात्रुले सेवा लिएका छन् । यस अवधिमा १ हजार २ सय २२ वटा सेड्युल तथा चार्टर उडान भएका छन् । विभिन्न मुलुकबाट ३१ हजार ९ सय ३२ यात्रु विमानस्थलमा आएका छन् भने ३७ हजार ४ सय ४५ जना बाहिरिएका छन् ।

विमानस्थलबाट पछिल्लोपटक २०२६ मार्च २५ मा अन्तर्राष्ट्रिय उडान भएको थियो । थाइ एयर एसियाको बैंकक–भैरहवा उडानमा १४ जना यात्रु आएका थिए भने भैरहवा–बैंकक उडानबाट १ सय ६ जना यात्रु गएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी पवन अग्रहरी बनियाले जानकारी दिए । त्यसयता कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । उनले विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका सेड्युल बारे अहिले कुनै जानकारीमा नरहेको बताए । ‘माथिबाट के तयारी गरिएको छ, त्यसबारे हामीलाई केही थाहा छैन’, उनले भने, ‘तर, तत्काल अन्तर्राष्ट्रिय उडान हुने कुनै सेड्युल छैन ।’

पछिल्लोपटक पोखरामा फ्लाई दुबईको उडान सुरु पछि भैरहवामा पनि कतै जहाज आइहाल्छ की भन्ने अपेक्षा निजी क्षेत्रको छ । त्यसले तत्काल सार्थकता पाउने अवस्था छैन । सरकारले पार्किङ, इन्धन लगायतमा छुट दिएको छ । तर, विमानस्थल संचालनका लागि अत्यावश्यक कार्यालयहरु भिसा सेन्टर, नोअब्जेक्सन लेटर, स्वास्थ्य, बीमा, म्यानपावर कम्पनी लगायतबाट हुने काम यहाँबाट हुँदैनन् । जसले गर्दा सरकारी छुट छुटमै सीमित भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटन, होटल, यातायात, व्यापार र रोजगारीमा ठूलो विस्तार हुने अपेक्षा गरेका व्यवसायी अहिले लगानीको भारसँगै अनिश्चितताको सामना गरिरहेका छन् । रुपन्देहीका सांसदहरुले संसदमा पटक–पटक विमानस्थल सञ्चालनको विषय उठाउँदै आए पनि सरकारले नसुनेझै गरिरहेको छ ।

विमानस्थल बनेको छ, पूर्वाधार तयार छ, निजी क्षेत्रले लगानी पनि गरिसकेको छ । तर, नियमित अन्तर्राष्ट्रिय उडानको अभावमा यति ठूलो पूर्वाधार अहिले जहाजको पर्खाइमा छ । व्यवसायीहरुका लागि यो केवल विमानस्थल नचल्नुको समस्या नभएर वर्षौंको लगानी, रोजगारी र लुम्बिनीको पर्यटन भविष्यसँग जोडिएको निराशा बनेको छ । अर्को अर्थमा भन्दा विमानस्थल ‘आकाशको फल, आँखातरी मर’ भनेझैं भएको छ ।