August 15, 2026, Saturday
२०८३ श्रावण ३० शनिबार

भैरहवाका बिजुली गाडी चार्जिङ सेन्टरलाई भ्याइ–नभ्याई

Advertisement

भैरहवा—विद्युतीय गाडीको उपयोग बढेसँगैं भैरहवा र आसपास क्षेत्रमा धमाधम चार्जिङ सेन्टर खुल्न थालेका छन् । मुलुकको मध्य भागमा रहेको रुपन्देही हुँदैं मुलुकभित्र ओहोरदोहोर गर्ने विद्युतीय गाडीको संख्या बढेपछि चार्जिङ सेन्टरमा लगानी ओइरिएको हो ।

Advertisement

एक बर्ष अघिसम्म भैरहवा क्षेत्रमा केही होटलमामात्र सिमीत रहेको चार्जिङ स्टेशन अहिले सडक तथा राजमार्ग किनारामामात्रै आधा दर्जन भन्दा धेरै व्यवसायिक रुपमा सञ्चालनमा आइसकेको छन् । होटल, रेष्टुरेन्ट र सडक किनारा क्षेत्रमा चार्जिङ सेन्टर खुल्ने क्रम बढ्दो छ ।

रुपन्देहीको बेलहिया नाका हुँदै मुलुक भित्रिने र बाहिरिने भारतीय विजुली गाडीका कारणपनि चार्जिङ सेन्टरको माग बढेको हो । अहिले भैरहवामा मुख्य राजमार्ग दायाँबायाँ यस्ता सेन्टर खुलेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रमा पर्यटकको चहलपहल पनि बढेको छ । भारतीय पर्यटक आफ्नै निजी वा बुकिङ गरिएका विद्युतीय गाडीमार्फत नेपाल भ्रमणमा आउने क्रम बढेकोे छ ।

नेपाल र भारत दुबै मुलुकमा विद्युतीय गाडीको प्रयोग व्यापक छ । बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकको पहिलो रोजाइमा विद्युतीय गाडी बनिरहेका छन् । जिल्लाभित्र होटल व्यवसायीले पनि यस्ता गाडी चलाइरहेका छन् । बुटवल हुँदै लुम्बिनी प्रदेशका विभिन्न पहाडी तथा तराइका जिल्लामा सार्वजनिक यातायातका रुपमा विद्युतीय गाडी चलिरहेका छन् । अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान, बर्दिया लगायत जिल्लामा यस्ता गाडीको संख्या बढ्दो छ । लामो दूरीमापनि विद्युतीय गाडी चल्न थालेका छन् ।

लाखौं रुपैयाँ लगानी गरेर भैरहवामा सञ्चालनमा ल्याइएका विद्यतीय चार्जिङ सेन्टरमा अहिले गाडी चार्ज गर्नेको भीड लाग्ने गरेको छ । यहाँ चार्जिक सेन्टरसँगै चालक र यात्रुका लागि क्याफेपनि सञ्चालन गरिएका छन् । अधिकांश चार्जिङ सेन्टरमा प्रति युनिट १५ रुपैयाँमा गाडी चार्ज गरिन्छ । यहाँ एउटा चार्जिङ सेन्टरमा सरदर दैनिक ३० देखि ६० वटासम्म सानातथा गाडी चार्ज हुने गरेका छन् । यस्ता व्यवसायिक बाहेक भैरहवा र आसपास क्षेत्रमा सञ्चालित पाँच र चारतारे लगायत होटलमा आउने पर्यटकका गाडी लक्षित गरेर पनि चार्जिङ स्टेसन सञ्चालन गरिएको छ । तिनमा नियमित गाडी चार्ज हुने गरेको छ ।

लुम्बिनी रोडमा रहेको एके इभी चार्जिङ स्टेसनका सञ्चालक भूपेन्द्र कार्कीले विजुली गाडीको बढ्दो प्रयोग लक्षित गरेर चार्जिङ सेन्टर सञ्चालनमा ल्याएको बताए । यसका लागि सरकारले विद्युतीय पूर्वाधार र व्यवसाय प्रवद्र्धनकालागि नीतिगत सहयोग गर्नुपर्ने उनको भनाई रहेको छ । ‘सरकारले मूल्य अभिवृद्धि कर र डिमान्ड चार्ज फिर्ता लिनुपर्छ,’ उनले भने, ‘लगानीकर्ता मर्कामा पर्नु हुँदैंन ।’ उनका अनुसार सेवाग्राहीलाई सक्दो सस्तो र सुलभ रूपमा सेवा प्रदान गर्नु मुख्य उद्देश्य रहेको छ । केन्द्रीय देखि स्थानीय सरकारले व्यवसायीलाई सहुलियत दिने तथा मूल्य अभिवृद्धि कर र डिमान्ड चार्ज नलिने व्यवस्था गरेमा आफूहरुले उपभोक्तालाई सस्तो मूल्यमा सेवा प्रदान गर्न सकिने बताए । नत्र भने मूल्यबृद्धि हुने बताए ।

चितवनबाट परिवारसहित लुम्बिनी घुम्न आएका गाडी चालक जमिर खानले पनि चितवनको तुलनामा भैरहवामा केही चार्जिङ गर्दा बढी शुल्क तिर्नु परेको बताए । ‘चितवनमा चार्ज गर्दा लाग्ने खर्चभन्दा यहाँ केही बढी तिरे जस्तो लाग्यो,’ उनले भने, ‘सायद मूल्य अभिवृद्धि करका कारणले यहाँको चार्जिङ शुल्क १५ रुपैयाँ प्रति युनिट पुगेको होला ।’ विद्युतीय सवारी साधनको प्रयोगले वातावरणमैत्री यात्रालाई टेवा पुर्याएको भए पनि करको नीतिगत अस्पष्टता, बारम्बार बिद्युत अवरुद्ध र ट्रिपिङ र डिमान्ड चार्जका कारण व्यवसायी र उपभोक्ता दुवैले केही सास्ती व्यहोर्नु परेको गुनासो बढ्दो छ ।