August 15, 2026, Saturday
२०८३ श्रावण ३० शनिबार

गौतम बुद्ध विमानस्थलमा वायुसेवा निगमको अपरेटिङ बेसको तयारी

Advertisement

भैरहवा–लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेको यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले वायु यानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ । अन्तर्राष्ट्रिय विमानस्थलले प्रेस विज्ञप्ती जारी गरेर यसबारे जानकारी गराएको हो ।

Advertisement

अपरेटिङ बेस राख्ने तयारी बारे खबर पाएपछि सरोकारवाला खुसी बनेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अपरेटिङ बेस बनाउने तयारी स्वरूप मंगलवारबाट उडान प्रशिक्षण समेत सुरु भइसकेको छ ।

निगमका अनुसार आफ्ना फस्र्ट अफिसर (पाइलट) हरूलाई एयरबस ३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराउन लागिएको हो । यो प्रशिक्षण कार्यक्रम साउन २७ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता इन्जिनियर कुमार सुजखुले प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थलमा सञ्चालन भइरहेको प्रशिक्षण उडानबारे सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराएका छन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यस अघि नै वैकल्पिक विमानस्थलको रूपमा राखेको छ । २०८२ मङ्सिर ३ गते देखि लागु हुने गरी निगमका जहाजहरू कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गरिने निर्णय भएको विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर साहले बताए ।

२०२१ सालमा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल २०२३ सालमा आन्तरिक विमानस्थलको रूपमा हालको स्थानबाट सुचारु रहेको छ । २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेको करिब ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका थिए ।

करिब ८ सय बिघामा फैलिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ किलोमिटरको रनवे रहेको छ । फोर ई क्याटेगरीको विमानस्थलमा नवौँ क्याटेगरीको दमकलहरू रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुन सक्ने यहाँ ४ वटा न्यारोबडी र १ वटा वाईडबडी गरि ५ वटा सम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ ।