May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३ बुधबार

सिद्धार्थ केबलकारद्वारा भैरहवामा वित्तीय सचेतना

Advertisement

भैरहवा– भैरहवामा वित्तीय सचेतना तथा पुँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमवार सिद्धार्थ केवलकार लिमिटेडको आयोजना सिद्धार्थ उद्योग बाणिज्य संघमा उक्त सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै उद्योगी–व्यवसायी र सरोकारवालाहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान जरुरी हुनुपर्ने बताउँदै यसले पुँजी बजारको विकास र व्यवस्थापनमा टेवा पुग्ने जनाए ।

Advertisement

सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दिलीपकुमार कान्दुले सिद्धार्थ केवलकारले रुपन्देहीको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान दिएको बताए । उनले सबै वर्ग र क्षेत्रलाई समेटेर पर्यटक आउने वातारण सिर्जना गरिनुपर्नेमा जोड दिए । वित्तीय साक्षरता भएमा व्यवसायिक वातावरण सिर्जनामा थप सहयोग पुग्ने उनले जनाए ।

यदि व्यापार गर्दा कुनै पनि लगानीकर्ताले सही समयमा लगानी लगाएमा मात्र राम्रो प्रतिफल पाउने उनको भनाई छ । कान्ुदले आन्तरिक तथा बाह्य पर्यटकबीच लिइने शुल्कमा समानता नभएको भन्दै यसलाई सुधार गर्नुपर्नेमा समेत जोड दिए ।

कान्दुले अहिलेको प्रतिस्पर्धात्मक बजारमा कुनै पनि व्यवसायलाई दीर्घकालसम्म टिकाइराख्न चुनौतीपूर्ण रहेको बताए । उनले पर्यटन तथा लगानीका क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

सिद्धार्थ केवलकारका उप–प्रमुख अधिकृत राकेश बर्णवालले केवलकार अझै निर्माणकै चरणमा रहेको जानकारी गराउँदै सबै वर्गका नागरिकलाई ध्यानमा राखेर शुल्क निर्धारण गरिएको बताए । उनले एकपटक केवलकारको अवलोकन गरी आवश्यक सुधारका विषयमा सुझाव दिन सबैलाई आग्रह गरे । साथै उनले केवलकार परिसरभित्र ऐतिहासिक नुवाकोट क्षेत्रसमेत रहेको उल्लेख गर्दै यसले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उद्योगी–व्यवसायी र सरकारी निकायसँग आफूहरुले हातेमालो गरेर पर्यटकीय विकासमा योगदान गरिरहेको जनाउँदै यसका लागि सबै पक्षको सहयोग जरुरी रहेको उनको भनाई छ । पुँजी बजारको विकास र विस्तारका लागि वित्तीय ज्ञान, अनुभव र योजना भएमा सार्थकता पाइने भएकाले साक्षरता कार्यक्रम गरिएको वर्णवालले बताए ।

उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य हरिष सेठियाले केबलकारले भारतीय पर्यटकसँग ५ सय रुपैयाँ तथा आन्तरिक पर्यटकसँग ३ सय रुपैयाँ शुल्क लिने विषयमा प्रश्न उठाएका थिए । उनले शुल्क निर्धारणमा समानता र स्पष्टता आवश्यक रहेको बताए ।

सिद्धार्थ केवलकारका बिजनेस कन्सल्ट्यान्ट राघव कोइराला, पब्लिक अफिसर सुभम खनाल लगायतले सेठियाले उठाएको विषयलाई चाँडै नै समाधान गरिने आश्वासन दिए । खनालले केवलकार परियोजनामा सर्वसाधारणले पनि लगानी गर्न सक्ने जानकारी दिँदै सहकार्यका लागि आह्वान गरे । कार्यक्रममा उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता थियो ।