उद्योगी–व्यवसायीको हकहीतका लागि प्रदेश सरकार रक्षाकवज बन्छः मुख्यमन्त्री आचार्य


भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी–व्यवसायीहरूको हकहितका लागि सरकार सधैं रक्षाकवज बनेर हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन् । आइतबार भैरहवामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रको पक्षमा प्रदेश सरकार सधैं उभिने बताए । उनले लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको मेरुदण्ड नै निजी क्षेत्र रहेको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले व्यवसायीलाई थुनेर र हतोत्साहित गरेर मुलुक अघि बढ्न नसक्ने भन्दै संघीय सरकारको ध्यानाकर्षण समेत गराए । ‘निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका कारण हतोत्साहित हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय हो’, उनले भने, ‘प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सधैं साथमा रहने विश्वास दिलाउन चाहन्छु ।’
मुख्यमन्त्री आचार्यले व्यवसायीको मागप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उद्योगका लाइन काटिएको समयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या थप लम्बिने अवस्था आउने जनाए । सातै प्रदेश र प्रधानमन्त्रीसँग छलफल गरेर समस्या समाधान गरिएको स्मरण उनले गरे । उले उद्योगी तथा व्यवसायीका समस्याका विषयमा संघीय सरकारसँग निरन्तर छलफल गरिने पनि आश्वासन दिए ।
‘व्यवसायीहरुलाई थुनेर, हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन । बदमासी भएका छन् भने कानुनी रुपमा दण्डित गर्न सकिन्छ । तर, सिंगो व्यवसाय क्षेत्रलाई नै हतोत्साहित बनाउने गरी धरपकड गर्नु मुलुकका लागि राम्रो हुँदैन,’ उनले भने ।
मुख्यमन्त्री आचार्यले अहिले नै निजी क्षेत्र समस्यामा रहेको अवस्थामा थप धरपकडको वातावरण बने निजी क्षेत्र नै धरासायी हुने खतरा रहेको जनाए । निजी क्षेत्रलाई चलायमान बनाउन नसकिए मुलुकको आर्थिक अवस्था झन् कमजोर बन्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले निजी क्षेत्रको लगानी बढाउने र व्यवसायीलाई प्रोत्साहन गर्ने गरी नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए । ‘निजी क्षेत्रलाई उत्साहित बनाउने गरी प्रदेश सरकारले योजना बनाउँदैछ । यहाँहरुसँग बसेर योजना समावेश गरिनेछ,’ उनले भने, ‘स्थानीय उत्पादन वृद्धि, उद्यमशीलताको प्रवद्र्धन र बजार सुनिश्चितताका लागि निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार छ ।’ उनले युवालाई आकर्षित गर्ने र निजी क्षेत्रलाई प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रमसमेत आगामी बजेटमा प्रदेश सरकारले ल्याउने स्पष्ट आश्वासन दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले उद्योगी व्यवसायीलाई विपक्षी नभई साझेदारका रूपमा बुझ्न आवश्यक रहेको बताए । उनले भैरहवामा नाकामा निर्माणाधीन आईसिपी, भन्सार, सेज, विमानस्थल, कृषि तथा पर्यटनलगायत क्षेत्रहरूमा सहकार्य गर्न निजी क्षेत्र सधैं तयार रहेको धारणा राखे । यसका लागि सरकारले सही वातावरण बनाउनुपर्ने उनको भनाई छ ।
महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष ठाकुरकुमार श्रेष्ठले पछिल्लो समय भएका आन्दोलन र बजार अनुगमनका कारण उद्योगी व्यवसायीहरूको मनोबल कमजोर बन्दै गएको बताए । व्यापारीमाथि हुने धरपकड र अनुगमनले व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको उनले जनाए । आफ्नो कार्यकालमा सरकारसँग सहकार्य गरी निजी क्षेत्रको उत्थानमा लाग्ने उनले प्रतिबद्धता जनाए ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलमान सिंह ठकुरी र नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अधयक्ष गणेशप्रसाद अधिकारीले जेनजी आन्दोलनपछि निजी क्षेत्रको मनोबाल खस्किएको जनाउँदै अझै उकासिन नसकेको गुनासो गरे । व्यवसायीलाई धरपकड गरेर मात्रै नभई मनोबल उकासेर मात्रै मुलुकको आर्थिक सकृद्धि हुने उनीहरुको भनाई छ । प्रदेशमा निजी क्षेत्रबाट खर्बौं लगानी भए पनि राज्यले संरक्षण गर्न नसकेको ठकुरी र अधिकारीले बताए ।
पदस्थापन समारोहमा कृष्णप्रसाद पोख्रेल, महेन्द्र धार तथा महिला सदस्यमा सारदा सुवेदीलाई महासंघको प्रदेश सदस्यमा मनोनित गरिएको थियो । साथै नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई पद तथा गोपनीयताको सपथसमेत गराइएको थियो ।








लेखकको सम्वन्धमा