July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

भैरहवामा सेजमा संचालनमा आउँदैछ मुलुककै ठूलो गार्मेन्ट उद्योग

Advertisement

भैरहवा– भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा गार्मेन्ट गियर प्रालि उद्योग निर्माण तीव्र रुपमा भइरहेको छ । उक्त गार्मेन्ट आगामी अबको चार–पाँच महिनामै सञ्चालन गर्ने तयारी गरिएको छ । स्वदेशी उत्दानमा आधारित उक्त गार्मेन्टबाट उत्पादित कपडा बजारमा पठाइने तयारी छ ।

Advertisement

उक्त उद्योगको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । कुसे औँसीमा बुवाको मुख हेर्दा उपहारका रूपमा दिन मिल्ने गरी सर्ट र पाइन्ट बजारमा ल्याउने तयारीसहित काम भइरहेको छ ।

उक्त गामेन्ट उद्योगमा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, शिक्षा, स्वास्थ्य र जलविद्युत् क्षेत्रमा लगानी गरेको व्यवसायी उमेश श्रेष्ठ, पूर्वाधार क्षेत्रमा काम गरिरहेका रामकृष्ण खतिवडा, पूर्वबैंकर किरणकुमार श्रेष्ठ र ऊर्जा व्यवसायी राजेश श्रेष्ठको लगानी छ । उक्त उद्योगमा भाटभटेनीका सञ्चालक गुरुङ र शिक्षा क्षेत्रका व्यवसायी उमेश श्रेष्ठको मुख्य लगानी छ ।

उद्योगले यसै वर्षको वैशाखबाट उत्पादन बजारमा ल्याउने भनेको थियो । तर, गत भदौमा भएको जेनजी आन्दोलनमा भाटभटेनीमा ठूलो क्षति भएको र अर्थतन्त्रमा प्रतिकूल परिस्थिति बनेका कारण उद्योग निर्माणको काम घोषित समयमा सम्पन्न हुन सकेन ।

उक्त व्यावसायिक समूहले प्रवद्र्धन गरिरहेका सबै आयोजना जेनजी आन्दोलनपछि ६ महिनाका लागि पछाडि सारिएको लगानीकर्ताहरूले बताएका छन् ।

उक्त उद्योगलाई उत्पादन केन्द्रका रूपमा मात्र नभई नेपालको निर्यातमुखी औद्योगिक क्षेत्रलाई नयाँ दिशा दिने रणनीतिक परियोजनाका रूपमा हेरिएको छ । उद्योगले उच्च गुणस्तरका तयारी पोसाक उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको उपस्थिति विस्तार गर्ने लक्ष्य लिएको छ ।

गार्मेन्ट गियरबाट उत्पादन भएका सामग्री नेपालमा भाटभेटनीमार्फत बजारमा लैजाने योजना छ । त्यसबाहेक, भारत, अमेरिका र युरोपका देशमा तयारी पोसाक निर्यात गर्ने योजना छ । उत्पादन भएका तयारी पोसाकमध्ये ४० प्रतिशत नेपाली बजारमा र ६० प्रतिशत विदेशी बजारमा लैजाने योजना बनाइएको छ ।

उद्योग निर्माण तथा सञ्चालनका लागि कम्पनीले दीर्घकालीन र अल्पकालीन गरी कुल १ अर्ब ३० करोड रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाको रेटिङ गराएको छ । जसमध्ये ८० करोड रुपैयाँ दीर्घकालीन र ५० करोड रुपैयाँ अल्पकालीन कर्जा सुविधा हुने गरी रेटिङ गराएको छ ।

उद्योगले वार्षिक करिब ५७ लाख ६० हजार थान विभिन्न प्रकारका तयारी पोसाक उत्पादन गर्ने लक्ष्य राखेको छ । उद्योगले मुख्य रूपमा डेनिम बटम, लेगिङ, जेगिङ, ट्रेगिङ, प्यान्ट, सर्ट तथा निटवेयर उत्पादन उद्योगका कार्यकारी निर्देशक रामकृष्ण खतिवडाले जनाएका छन् ।

सेजमा २५ वर्षको लागि भाडामा लिएको एक लाख ३४ हजार स्क्वायर फिट जग्गामध्ये ९० हजार स्क्वायर फिटमा उद्योग क्षेत्र निर्माण भइरहेको छ । जसमा एक हजार २०० जना कामदारले एकै पटक काम गर्न सक्ने उद्योगको क्षमता छ ।