प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा, त्यसपछि अधुरा योजनाः मुख्यमन्त्री आचार्य


बुटवल–लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा योजना छनोटका लागि स्पष्ट प्राथमिकता निर्धारण गर्दै प्रदेश गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य ले अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता रहने र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताएका हुन् ।
उनले, प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा एक रुपैयाँ पनि बढी बजेट नबनाउने प्रतिबद्धता दोहर्यार्याउदै यथार्थपरक बजेट निर्माणमा जोड दिए । हाल करिब ६ अर्ब हाराहारीमा रहेको राजश्वलाई आगामी आर्थिक वर्षमा साढे ६ अर्बसम्म पुर्र्याउने प्रक्षेपण गरिएको जानकारी दिए । ‘आगामी बर्षको बजेट यथार्थ अवस्थामा टेकेर निर्माण गर्नेछौं । आवश्यकता र औचित्यको आधारमा बजेट हुनेछ’ उनले भने, ‘पहिलो प्राथमिकता प्रदेश गौरव र बहुबर्षिय आयोजनालाई राख्नेछौं । दोस्रो प्राथमिकता अधुरा आयोजना सम्पन्न गर्ने हुनेछ । त्ययपछी मात्रै नयाँ आयोजना समावेश हुनेछन् ।’
मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गर्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताए । जिल्ला समन्वय समितिलाई अनुगमनसँग जोड्न ऐन संशोधन गरिएको र स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई समेत अनुगमनमा सहभागी गराउने तयारी भइरहेको जानकारी उनले दिए ।
संविधानले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र तीनै तहका सरकार स्वतन्त्र रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका हुन् । तीन तहका सरकार कसैका इकाइ नभई आफ्नै अधिकारसहित स्वायत्त रहेको भनाइ उनको थियो ।
लुम्बिनी प्रदेशले विगतको तुलनामा राजश्व संकलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उनले बागमती प्रदेशपछि राजश्व संकलनमा लुम्बिनी अग्रस्थानमा रहेको दाबी गरे ।








प्रतिकृया दिनुहोस्