August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

लुम्बिनी कोरिडोर खाली गराउँदा ७० अर्ब लगानी र १० हजार रोजगारी जोखिममा

Advertisement

भैरहवा– रुपन्देहीको भैरहवादेखि बुद्ध जन्मस्थलसम्म २० किलोमिटर खण्डलाई लुम्बिनी कोरिडोर मानिएको छ । यही मार्ग भएर स्वदेशी तथा बिदेशी पर्यटक लुम्बिनी पुग्ने गरेका छन् । एक दशक अघिसम्म भैरहवा–लुम्बिनी सडक खण्डका दायाँबायाँ आँपका रुख हुर्किएका थिए । जसले गर्दा यस सडक हुँदै यात्रा गर्दा आनन्दको छहारी मिल्थ्यो । यो खण्ड बिस्तारका क्रममा ती रुख कटान गरिएपछि सडक दायाँबायाँ विभिन्न उद्योग र बजार देखिन्छन् । सडक आसपास अहिले बस्ती विकास भइरहेको छ ।

Advertisement

बुद्ध जन्मस्थल पुग्ने मार्गसँगैं यस कोरिडोरको अर्को विशेषता भनेको ठूला उद्योग र उत्पादनमूलक कारखाना हुन् । यस खण्ड अन्तर्गत मायादेवीको बेथरीबाट पश्चिम सुन्डीसम्म उत्तर र दक्षिण उद्योग छन् । बुद्ध जन्मस्थल आसपास ईंट्टा उद्योग पनि छन् । कोरिडोर क्षेत्रमा रहेका उद्योगले तीन–चार दशकको बोकेका छन् । सञ्चालनको लामो अवधिसम्म उद्योगले उत्सर्जन गर्ने प्रदूषणजन्य बस्तुका असरबारे बहस हुन्थेन् । नेपाल–भारत नाकाबाट नजिक रहेको कोरिडोर उद्योग स्थापनाका लागि सहज भएकाले सरकारले अनुमति दिँदैं जाने र उद्योगीले पनि नयाँ उद्योगमा लगानी थप्दैं गएको देखिन्छ ।

सर्वोच्च अदालतले लुम्बिनीबाट १५ किलोमिटर क्षेत्रभित्रका उद्योग हटाउने फैसला सुनाएपछि लगानीकर्तासँगैं सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । एकातिर उद्योगीको लगानी डुब्ने चिन्ता छ । अर्कोतिर स्थानीयको रोजगारी गुम्ने भय छ । मायादेवी गाउँपालिकाका अध्यक्ष धुव्रनारायण चौधरीले बुद्ध जन्मस्थल लुम्बिनीमा असर गर्ने उद्योग हटाउँदा लगानी र रोजगारी गुम्ने बताए । उनका अनुसार पालिकाभित्र ९ वटा सिमेन्ट उद्योग छन् । यसकाबाहेक खाद्य, प्लाइउड, धागो, रिफाइनरी लगायत उद्योग छन् ।

मायादेवी–३, ४, ५, ७ र ८ नम्बर वडामा उद्योग र ठूला होटल छन् । ‘हामी लुम्बिनी नजिक रहेकाले बुद्ध जन्मस्थल प्रभावित नहोस् भन्ने पनि चाहन्छौं,’ उनले भने, ‘अर्कोतर्फ उद्योगको लगानी डुब्ने र स्थानीयले रोजगारी गुमाउनु हुँदैन भन्ने पनि हाम्रो धारणा छ ।’ उद्योगीलाई क्षतिपूर्ति दिएर पनि लगानी जोखिममा पर्नबाट जोगाउनु पर्ने उनले बताए । ‘उद्योग भत्काउनु पर्ने अवस्थामा धेरै स्थानीयले रोजगारी गुमाउने छन्,’ उनले भने, ‘त्यसैले संघीय सरकारले यी उद्योगलाई सुरक्षित ठाउँमा व्यवस्थित गर्नुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार उद्योग स्थापना हुनुपूर्व भैरहवाबाट लुम्बिनीसम्म मानव बसोबास पनि थिएन । ‘सुनसान बाटोको दायाँबायाँ उद्योग थपिँदैं गए,’ उनले भने, ‘प्रदूषणको ख्याल नगरी सरकारले पनि अनुमति दिँदैं गयो ।’ उनका अनुसार लुम्बिनी कोरिडोरमा अहिले सिमेन्ट, स्टिल, स्न्याक्स, ईंटा, कागज, प्लाइउड, रिफाइनरी, कुटानीपिसानीका गरेर ४० भन्दा बढी उद्योग छन् । तिनमा ७० अर्ब भन्दा बढी लगानी भइसकेको छ । ‘१० हजार हाराहारीले प्रत्यक्ष रोजगारी गरिरहेका छन्,’ उनले भने, ‘अप्रत्यक्ष रोजगारी पाउनको संख्या धेरै छ ।’

उद्योगीको धेरै लगानी भइसके पछि मात्रै प्रदूषणको कुरा उठेकाले लगानीकर्ता मर्कामा परेको उनले बताए । ‘सर्वोच्चको आदेश आए पनि उद्योग स्थानान्तरणको पक्रिया सुरु भइसकेको छैन,’ उनले भने, ‘कसरी उद्योग हटाउन सकिन्छ भनेर पनि कुरा भएको छैन ।’ कार्वन उत्सर्जन गर्ने उद्योगमा रोक लगाउने हो भने अहिले लुम्बिनी कोरिडोरमा निर्माण भइरहेका स्तरीय र तारे होटल पनि संकटमा पर्ने अवस्था सिर्जना भएको उनले बताए । अहिले कोरिडोरमा एउटा पाँचतारेसहित आधा दर्जन स्तरीय होटल सञ्चालनमा छन् । प्रदूषणको कुरा उठेपछि कोरिडोरमा रहेका धेरै उद्योगले प्रदूषण कम गर्ने यन्त्र जडान गरिसकेको बताए ।

बरिष्ठ उद्योगी राजेशकुमार कुमार अग्रवालले समयसिमा तोकेर पुराना उद्योगलाई प्रदूषण नियन्त्रणका लागि अवसर दिनुपर्ने बताए । ‘प्रदूषण नियन्त्रण मापदण्ड लागू गर्नुपर्छ,’ उनले भने, ‘मापदण्ड पालना नगर्ने उद्योगलाई मात्र हटाउनुपर्छ ।’ उद्योग स्थानान्तरण सम्भव नभएकाले बन्द गर्नुको विकल्प नरहेको उनले बताए । लुम्बिनी कोरिडोरमा नयाँ उद्योग स्थापना गर्न जोखिम भएपछि धेरै उद्योगीले भैरहवा–परासी कोरिडोरमा लगानी गरिरहेका छन् । लुम्बिनी आसपास २० वटा ईंटा भट्टा छन् । सर्वोच्च अदालतको आदेशपछि ती उद्योग हटाउनु पर्ने छ । नेपाल ईंटा उद्योग महासंघका केन्द्रिय सहकोषाध्यक्ष अजयकुमार गुप्ताले सर्वोच्चको आदेश कार्यान्वयन हुने भने २० देखि २२ वटा ईंटा उद्योग बन्द गर्नुपर्ने बताए ।

उनका अनुसार उक्त कोरिडोरमा २०३५ सालबाट ईंटा उद्योग स्थापना गरिएका हुन् । ईंटा उद्योगका लागि उचो स्थानमा कम्तिमा १०–१२ बिघा जमिन आवश्यक पर्ने उनले बताए । ‘अहिलेको अवस्थामा रुपन्देहीको कुन ठाउँमा हामीले खोजेको जस्तो जमिन होला,’ उनले प्रश्न गरे, ‘अब सबै उद्योग बन्द हुन्छन् । नयाँ ठाउँमा स्थापना गर्न सकिँदैन ।’ प्रदूषण कम गर्न सबै उद्योगले ‘जिकज्याक’ प्रविधि जडान गरिसकेकाले पहिलाको जस्तो प्रदूषण नहुने उनले दाबी गरे ।

‘प्राविधिक हिसाबले हामी अहिले ठिक छौं,’ उनले भने, ‘सोचबिचार नगरी निर्णय कार्यान्वयन गर्ने हो भने लगानीकर्ता डुब्छौं ।’ उनका अनुसार एउटा ईंटा उद्योगमा ३ देखि ४ सय कामदार छन् । उद्योग बन्द भए सबैं बेरोजगार हुने उनले बताए । अर्बौं लगानीमा वर्षौदेखि सञ्चालनमा रहेका उद्योग हटाउने कुरा तत्काल सम्भव नहुने उद्योगीले बताएका छन् । उद्योग स्थान्तरण सहज नभएकाले लगानीकर्ता र मजदूर पलायन हुने जोखिम बढेको उनीहरुको भनाई छ ।