July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

पश्चिम नवलपरासीका निर्माण व्यवसायीद्वारा निर्माणका कार्य ठप्प

Advertisement

भैरहवा– निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धि र त्यस अनुरुप मूल्य समायोजन गर्ने व्यवसायीको मागलाई सरकारले वेवास्ता गरेको जनाउँदै पश्चिम नवलपरासीका निर्माण व्यवसायीहरूले निर्माणका कामहरू ठप्प पारेका छन् ।

Advertisement

यसबाट जिल्लामा सञ्चालित विभिन्न निर्माण कार्यहरु प्रभावित हुन पुगेका छन् । निर्माण व्यवसायी संघ नवलपरासीको आह्वानमा व्यवसायीहरूले सञ्चालनमा रहेका साना तथा ठुला सबै खालका आयोजनाहरूको काम बन्द गरेका हुन् । इन्धन र निर्माण सामग्रीको मूल्य आकाशिएका कारण पुरानो दररेटमा काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

निर्माण व्यवसायी संघ नवलपरासीका अध्यक्ष नवीन ज्ञवालीले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर काम रोक्नुपरेको बताए । निर्माण व्यवसायीले निर्माण आपतकाल घोषणा गर्न र मूल्य समायोजन गर्न माग गरेको जनाउँदै उनले व्यवसायीहरू टाट पल्टिने अवस्था आएपछि आ–आफ्ना उपकरण तथा मेसिन र कामदारहरू कार्यस्थलबाट फिर्ता बोलाउन बाध्य भएको बताए ।

संघका अनुसार निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिमा देखिएको समस्या समाधान गर्न र राष्ट्र बैंकको अनुपयुक्त मूल्य सूचकाङ्कलाई खारेज गरी वास्तविक बजार मूल्यका आधारमा भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग व्यवसायीको छ । स्थानिय निर्माण व्यवसायी दीपक भुसालले बजारमा सिमेन्ट, डण्डी र अलकत्राको मूल्यमा भएको बृद्धि र अभावले गर्दा काम गर्ने वातावरण नै नभएको बताए ।

निर्माण कार्य बन्द भएसँगै जिल्लाका सडक र स्थानीय तहका पूर्वाधार निर्माणका कामहरू अनिश्चित बनेका छन् । संघका सचिव कृष्णप्रसाद पौडेलले इन्धनमा भएको मूल्यवृद्धि र नदीजन्य पदार्थको अभावले गर्दा जिल्लाका पुल, सडक र भवन निर्माणका कामहरू प्रभावित भएको बताए । ‘बजारको वास्तविक मूल्य र सरकारी रेटमा अत्याधिक भिन्नता छ । यस्तो अवस्थामा काम जारी राख्नु भनेको व्यवसायबाट पलायन हुनु हो’ उनले भने, ‘जबसम्म मूल्य समायोजन हुँदैन, तबसम्म काम सुचारु हुन सक्ने अवस्था छैन ।’

व्यवसायीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र चरणबद्ध रूपमा थप कडा कार्यक्रमहरू सार्वजनिक गर्ने जनाएका छन् ।