July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

सरकारले स्वीकृत गर्‍यो बृहत्तर लुम्बिनी क्षेत्र विकासका लागि ८५ मिलियन डलर

Advertisement

भैरहवा– बुद्धजन्मस्थल लुम्बिनीसहित रूपन्देही, कपिलबस्तु र नवलपरासी जिल्लामा रहेका बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक सम्पदा स्थललाई समेट्ने गरि अघि सारिएको बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले उपलब्ध गराउने सहुलियतपूर्ण ऋण नेपाल सरकारले लिने भएको छ ।

Advertisement

बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले ८५ मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ६३ करोड नेपाली रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त ऋण लिनका लागि सरकारले स्वीकृत प्रदान गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि विश्व बैंकले दिने उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको जनाइन् ।

यही मार्च १३ मा अमेरिकाको वासिङ्टन डीसीमा बसेको विश्व बैंकको बोर्ड बैठकले लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहुलियत ऋण दिने निर्णय गरेको थियो ।

परियोजना अन्तर्गत ग्रेटर लुम्बिनी क्षेत्र विकासका नाममा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक स्थल रहेका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा विभिन्न काम गरिनेछ ।

परियोजना सहरी विकास र पर्यटन मन्त्रालयबाट सञ्चालन हुनेछ । सहरी विकासको परियोजना कार्यान्वयन इकाई भैरहवामा रहेको छ । उक्त सहरी विकास तथा भवन कार्यालय र पर्यटन मन्त्रालयको परियोजना कार्यान्वयन इकाई लुम्बिनी विकास कोषमा राखेर काम गरिने तयारी छ । परियोजनाले लुम्बिनी सांस्कृति नगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिका र कपिलवस्तु नगरपालिकालाई समेट्ने छ ।

‘लुम्बिनी र यससँग सम्बन्धित पालिकाहरुमा आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय विकासका साथै स्थानीयलाई आयआर्जनसँग जोड्न उक्त रकम खर्च गरिने छ । उक्त रकमबाट पाँच वर्षको अवधिका लागि परियोजना संचालन हुनेछ’, लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले भने ।

परियोजनाअन्तर्गत ग्रेटर लुम्बिनी क्षेत्र विकासका नाममा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक स्थल रहेका क्षेत्रमा काम गरिनेछ । विश्व बैंकको उक्त निर्णय अर्थ मन्त्रालय पुगेपछि त्यहाँबाट ऋण सम्बन्धी सम्झौताको मस्यौदा कानुन मन्त्रालय पठाइएको थियो । कानुन मन्त्रालयबाट फिर्ता आएपछि मन्त्रिपरिषद्ले ऋण स्वीकार गर्ने निर्णय गरेको हो । उक्त योजना अब कार्यान्वयनमा जाने छ ।

परियोजना अन्तर्गत चार ठाउँमा काम हुनेछन् । बुद्ध जन्मस्थल लुम्बिनीको एक वर्गकिलोमिटर वाई एक वर्ग किलोमिटरको सेक्रेट गार्डेन क्षेत्र, कपिलवस्तुको शाक्यवंशीय राजधानी तिलौराकोट, पश्चिम नवलपरासीको बुद्धको अस्तुधातु रहेको रामग्राम र बुद्ध मावली रुपन्देहीको देवदहमा काम हुनेछन् ।

लुम्बिनी परिसरमा रहेको लुम्बिनी म्युजियम पनि कर्मथलो हुनेछ । परियोजनाबाट पूर्वाधार सुधार र गन्तव्य विकास, गन्तव्य योजना र परिकल्पना तथा स्थानीय आर्थिक विकास र निजी क्षेत्रको संलग्नतालाई सहयोग पुग्ने गरी कार्ययोजना बनाएर काम गरिनेछ । परियोजनाअन्तर्गत लुम्बिनी पवित्र उद्यानभित्र आउने तीर्थयात्री र पर्यटकलाई शौचालय सुविधा, धुप–बत्ती बाल्ने स्थान निर्माण, जुत्ताचप्पल फुकालेर राख्ने ठाउँ बनाइने र मायादेवी मन्दिर परिसरको सुन्दरीकरणका काम छन् ।

स्थानीय पालिकालाई समेटेर ठूलो आर्थिक सहयोग आउने भएपछि जनप्रतिनिधि र पर्यटन व्यवसायीले खुशी व्यक्त गरेका छन् । परियोजनाबाट तिलौराकोट, रामग्राम र देवदहमा राम्रो भिजिटर सेन्टर, संरक्षणमैत्री बसपार्क, पार्किङ स्थल र बाटोघाटो बनाइनेछ । वाक–वे, शौचालय, डिजिटल बोर्ड र ट्रान्जिवल साइनेज राखिनेछ । खानेपानी, सरसफाइ र ढल निकासका काम पनि गरिनेछ । तिलौराकोटमा अधिग्रहण गरिएको जग्गा संरक्षण र विकासका काम पनि गरिने छ । त्यस्तै बुद्धसँग सम्बन्धित स्थल देवदह र रामग्राममा सडकको स्तरोन्नति र सञ्जालीकरणबाट पनि जोडिनेछ ।

स्थानीयलाई रोजगारीको अवसर सिर्जना गर्दै पर्यटन प्रवद्र्धनका काम गरिनेछ । एउटा नगरपालिकालाई तीन मिलियन डलर विनियोजन गरेर काम गर्ने भनिएको छ । कुल ८५ मिलियिन डलरमध्ये बृहत्तर लुम्बिनी विकासका काममा ४५ मिलियन डलर छुट्याइएको छ ।