भैरहवाको नेपाः ट्राभल्सद्वारा भ्रमण प्याकेज सार्वजनिक


भैरहवा– रुपन्देहीको सिद्धार्थनगर–५ मा मुख्य कार्यालय रहेको नेपाः ट्राभल्स एण्ड टुर्स प्रालिले पर्यटक लक्षित गरेर मुलुकका विभिन्न गन्तव्य भ्रमणका लागि भ्रमण प्याकेज सार्वजनिक गरेको छ । भैरहवाबाट आन्तरिक गन्तव्य भ्रमण प्याकेज अभाव भएको अवस्थामा नेपाः ट्राभल्सले यस्ता कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।
मुलुकका ७७ वटै जिल्लामा अनलाइन शाखा विस्तार गर्ने क्रममा आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर मुलुकका पर्यटकीय गन्तव्य भ्रमण प्याकेज सार्वजनिक गरेको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा भैरहवासम्म आएका पर्यटकलाई सुविधा पुर्याउने उद्देश्यले प्याकेज कार्यक्रम घोषणा गरिएको नेपाः ट्राभल्सका सञ्चालक संजय बजिमयले बताए ।
नेपाः ट्राभल्सले लुम्बिनी, पोखरा, मुक्तिनाथ, चितवन, काठमाडौं र बर्दिया लगायत गन्तव्यका लागि भ्रमण प्याकेज सार्वजनिक गरिएको जानकारी दिए । अधिकांश गन्तव्यका लागि दुई रात तीन दिनका लागि प्याकेज सार्वजनिक गरिएको हो । रुपन्देहीको बेलहिया नाका र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने पर्यटकलाई भैरहवाबाट पर्यटकीय गन्तव्यमा सहज ढंगले घुमाउन प्याकेज तयार गरिएको हो ।
रुपन्देही पर्यटकीय केन्द्र भए पनि यहाँबाट अन्य गन्तव्यका लागि भ्रमण प्याकेज घोषणा गरिएको थियो । सञ्चालक बजिमयका अनुसार भैरहवाबाट लुम्बिनीमा दुई रात तीन दिन घुमफिर गरेको १५ हजार ९ सय ९९ भारतीय रुपैयाँ तोकिएको छ । त्यत्ति नै खर्चमा पोखरा घुम्न सकिने छ । यहाँबाट मुक्तिनाथसम्म तीन रात ४ दिनको भ्रमण प्याकेज तोकिएको छ । त्यसको ८ हजार ४ सय ९९ भारतीय रुपैयाँ तोकिएको छ ।
चितवनमा दुई रात तीन दिनको १५ हजार ९ सय ९९ भारतीय रुपैयाँको भ्रमण प्याकेज रहेको छ । यसमा काठमाडांैंबाट चितवनसम्मको हवाई भाडा समेटिएको छ । यहाँबाट काठमाडौंको दुई रात तीन दिनको प्याकेजको ९ हजार ९ सय ९९ भारतीय रुपैयाँ तय गरिएको छ । ‘भैरहवाबाट मुलुकका अन्य गन्तव्यमा भ्रमण गर्ने धेरै भारतीय नागरिक हुन्छन्,’ उनले भने, ‘त्यसैले प्याकेज मूल्य पनि भारतीय रुपैयाँमा राखिएको हो ।’
नेपाली पर्यटक लक्षित गरेर नेपाली रुपैयाँमा पनि प्याकेज तयार गरिएको उनले बताए । यस्तो प्याकेजमा पर्यटकका लागि आवश्यक यातायात, होटल आवास, ब्रेकफाष्ट, खाना, गाइड, साइट सिन, जंगल सफारी लगायत सुविधा समेटिएका छन् । गन्तव्य हेरेर यस्ता सुविधा फरक–फरक रहेको उनले बताए ।








प्रतिकृया दिनुहोस्