August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

भैरहवा नाकाबाट झण्डै ७६ प्रतिशतले निर्यात बृद्धि, काठ र गिट्टी–बालुवा पनि निर्यात गर्न माग

Advertisement

भैरहवा– रुपन्देहीको बेलहिया (भैरहवा) नाका हुँदै झण्डै ७६ प्रतिशतले निर्यात बृद्धि भएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–२०८३ को ८ महिनामा विगतका वर्षहरुमा भन्दा निर्यात ह्वात्तै बढेको हो ।

Advertisement

भन्सार अधिकृत सन्तोष न्यौपानेले निर्यात उत्साहपूर्ण रहेको बताए । कार्यालयका अनुसार चालु वर्षको फागुन मसान्तसम्म (८ महिना) २० अर्ब ९५ करोड रुपैयाँ बराबरको नेपाली उत्पादन यो नाका हुँदै निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को सोही अवधिमा ११ अर्ब ९३ करोड मूल्यका नेपाली उत्पादन निर्यात भएका थिए । गत वर्ष भन्दा यस वर्ष ७५.६३ प्रतिशतले निर्यात बढेको भन्सार तथ्यांकले देखाउँछ ।

‘नेपाली उत्पादनको निर्यात बढ्नु निकै सुखद् पक्ष हो’, न्यौपानेले भने, ‘स्वदेशी उत्पादनले विदेशी बजारमा राम्रो उपस्थिति जनाउँदा पक्कै पनि हाम्रो मुलुकको अर्थतन्त्र र रोजगारीलाई फाइदा पुग्छ ।’ उनले चालु वर्षको अन्त्यसम्म २५ अर्ब बढीको निर्यात हुने अपेक्षा गरिएको जनाए ।

बेलहिया नाका हुँदै भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, चाउचाउ, भाँडाकुँडा, प्लाइउड, सिमेन्ट तथा क्लिङ्कर लगायतका वस्तु बढी मात्रामा निर्यात हुने गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले सरकारी नीति अझै सहज हुने हो भने स्वदेशी उत्पादन निर्यात बृद्धि हुने बताउँछन् । ‘निर्यात बढेकोमा निजी क्षेत्र खुशी छ । तर पनि केही कानूनी र प्रक्रियागत झन्झट अझै छन्’, उनले भने, ‘निर्यातमा प्रोत्साहन र कर छुट जस्ता कुराहरुमा ध्यान दिने हो भने पक्कै पनि विश्वबजारमा नेपाली उत्पादन छपक्कै हुनेछ भन्दा फरक नपर्ला ।’ उनले नयाँ सरकार बनेकाले निर्यात नीतिमा खुल्लापन ल्याउने विश्वास व्यक्त गरे ।

‘कतिपय हाम्रा उत्पादन नेपाली बजारमा प्रशस्त भएर पनि निर्यात हुन सकेका छैनन्’, न्यौपानेले भने, ‘अब भारत लगायतका देशहरुसँग समन्वय र सहकार्य गरेर भारतसहित अन्य मुलुक निर्यात गर्नुपर्छ । यसतर्फ निजी क्षेत्रले निरन्तर पहल गर्दै आएको छ । फेरि पनि सरकारसँग सहकार्य गरेर काम गर्नेछ ।’ उनले स्वदेशी उत्पादन बढ्दा र निर्यात बृद्धि हुँदा रोजगारी बढ्ने र युवा पलायन केही हदसम्म भए पनि रोक्न सहयोग पुग्ने जनाए ।

भन्सार कार्यालयका अनुसार चालु वर्षको ८ महिनामा बेलहिया नाका हुँदै सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । तथ्यांकअनुसार ८ अर्ब १३ करोड ४० लाख बढीको उक्त तेल निर्यात भएको हो । यस्तै, सेन्थेटिक यार्न २ अर्ब ३० करोड १८ लाख ९१ हजार, आल्मोनियमका तार १ अर्ब ९९ करोड ८३ लाख ४३ हजार, सिमेन्ट खैरो १ अर्ब १ करोड ८४ लाख ८८ हजार रुपैयाँ बराबरको निर्यात भएको भन्सार अधिकृत न्यौपानेले बताए ।

यसैगरी चाउचाउ, नुडल्स, पास्ता आदि ८४ करोड ३० लाख ११ हजार, फलाम वा स्टीलको भाँडाकुँडा ६७ करोड ६१ लाख ५६ हजार, खयर कत्था ५८ करोड १८ लाख १० हजार बराबर मूल्यको निर्यात भएको भन्सार तथ्यांक छ । यस्तै, प्लाइउड ५१ करोड ४३ लाख १६ हजार, सिमेन्ट क्लिंकर ४९ करोड ८८ लाख ४५ हजार र पिना ४३ करोड ६५ लाख ६६ हजार बराबरको निर्यात भएको छ । यो नाका हुँदै निर्यात हुने ९९ प्रतिशत नेपाली उत्पादन भारतीय बजारमा जाने गरेको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका सचिव मंगल भण्डारीले निर्यात बृद्धि हुनु राम्रो पक्ष भए पनि मुलुकलाई बढी फाइदा हुने गिट्टी–बालुवा निर्यात नहुनु सुखद् पक्ष नभएको जनाए । उनले सरकारले तत्कालै नीति बनाएर गिट्टी–बालुवा र काठजन्य वस्तु निर्यात गर्नुपर्ने बताए । ‘हामीकहाँ वर्षेनि गिट्टी–बालुवा र काठ खोलाले बगाएर लैजाने गरेको छ’, उनले भने, ‘यताबाट बगाएको यस्ता वस्तु भारतमा ठेक्का लाग्छ । तर, हामीले निर्यात गर्न हिचकिच्याउँछौं ।’ बुढा र बाक्लो घना जंगलका रुखहरु कटान गरेर निर्यात गर्नुपर्ने उनको जोड छ ।

‘हामी काठमा आत्मनिर्भर छौं । तर हाम्रो कानूनी अल्झनले गर्दा बर्सेनि अर्बौं मूल्यको काठ आयात गरिरहेका छौं । गिट्टी–बालुवा पनि हाम्रोमा प्रशस्त छ’, उनले भने, ‘प्रकृतिको संरक्षण गर्दै ठूला रुख नभएका पहाडबाट उत्खखन् गरेर ढुंगा पनि निर्यात गर्नुपर्छ । यसका लागि सरकारले ठोस नीति ल्याउन जरुरी छ । तब मात्रै हामी आर्थिक रुपमा सम्पन्न मुलुक बन्न सक्छौं ।’