वर्षाले पकाउने तयारीमा रहेको करोडौंको काँचो ईंटा नष्ट


भैरहवा– बेमौसमी वर्षाले लुम्बिनी प्रदेशका जिल्लाहरुमा पकाउने तयारीमा राखिएका करोडौं मूल्यका काँचो ईंटा नष्ट भएको छ । पकाउनका लागि ठिक्क पारिएको ईंटा भिजेर नष्ट हुँदा व्यवसायी मर्कामा परेका छन् । चैत ६ र ७ गते दुई दिनसम्म परेको वर्षाले लुम्बिनीका अधिकांश जिल्लामा ठूलो मात्रामा ईंटा क्षति भएको हो । यसबाट व्यवसायीले करोडौं नोक्सानी व्यहोर्नु परेको छ । वर्षाका कारण दाङमा मात्रै दुई करोड बराबरको इँटामा क्षति भएको छ । ईंटा व्यवसायी संघ दाङका अनुसार जिल्लामा रहेका उद्योगहरुको करिब ६६ लाखभन्दा बढी ईंटा नष्ट हुँदा करिव दुई करोड दस लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
जिल्लामा सञ्चालित ३६ वटा इँटा उद्योगबाट उत्पादित काँचो ईंटामा क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका ३६ वटा ईंटा उद्योगले दैनिक प्रति उद्योग ५० देखि ८० हजारसम्मका दरले ईंटा उत्पादन गर्दै आएका छन् । वर्षादका कारण सुक्दै गरेको र पोल्नका लागि तयारी अवस्थामा राखिएको इँटामा क्षति पुगेको दाङ देउखुरी इँटा व्यवसायी संघका सचिव प्रकाश खड्काले बताए ।
उनका अनुसार काँचो इँटा तयार गर्दा करिव प्रति इँटा तीन रुपैयाँ लागत खर्च लाग्ने गर्दछ । अन्य व्यवसाय जस्तो इँटा उद्योगमा बिमा सुविधा नहुँदा प्रत्येक वर्ष वर्षाका कारण व्यवसायीले ठुलो क्षति बेहोर्नुपर्ने र त्यसको असर उपभोक्तासम्म पर्ने गरेको व्यवसायी बताउँछन् ।
बेमौसमी वर्षाले गर्दा बाँके जिल्लामा मात्रै करिब नौ करोडको काँचो इँटा गलेर नष्ट भएको छ । जिल्लाका इँटा व्यवसायीहरुका अनुसार पकाउनका लागि तयारी अवस्थामा राखिएको ठुलो परिमाणको काँचो इँटा गलेर नष्ट भएपछि व्यवसायीलाई आठ करोड ७५ लाख रुपैयाँको आर्थिक क्षति भएको हो ।
इँटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं बाँकेको पिबीसी ईंट्टा उद्योगका सञ्चालक दीपक अधिकारीले बेमौसमी वर्षाले गर्दा एउटा उद्योगमा मात्र करिब पाँच लाख काँचो इँटा नष्ट भएको बताए । बाँकेमा ७० वटा इँटा उद्योग छन् । उनका अनुसार तीन करोड ५० लाख जति काँचो ईट्टा नष्ट भएकाले ८ करोड ७५ लाख रुपैयाँको क्षति भएको हो । व्यवसायीका अनुसार खुला चौरमा भर्खरै तयार पारेर सुक्नका लागि राखिएका अधिकांश इँटाहरु पानीका कारण माटोमा परिणत भएका छन् ।
यता कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासीमा पनि काँचो ईंटा वर्षाले नष्ट गरेको छ । यसबाट व्यवसायीले करोडौंको क्षति भएको जनाएका छन् । यी जिल्लामा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।








प्रतिकृया दिनुहोस्