स्थिर सरकार बनेपछि निजी क्षेत्र चलायमान हुने आशा


भैरहवा– फागुन २१ गतेको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमत प्राप्त गरेकाले मुलुकमा अब स्थिर सरकार निर्माण हुने निजी क्षेत्रले विश्वास गरेको छ । स्थिर सरकार बनेपछि आर्थिक समृद्धि हाँसिल हुने निजी क्षेत्रले अपेक्षा गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि मुलुक नयाँ दिशामा अग्रसर बनेको हो । उक्त आन्दोलन लगत्तै गठन भएको गैरदलीय सरकारले फागुन २१ गते आम निर्वाचन गराएको हो । रास्वपाले बहुमत प्राप्त गरेको र नेतृत्वमा युवाको बाहुल्य रहेकाले पनि सर्वसाधरण, उद्योगी, व्यवसायी र बृद्धिजिवीले परिवर्तनको आश गरेका हुन् ।
बिगतमा दलबीच गठबन्धन गरेर निर्वाचन र सरकार तय हुने गरेको थियो । त्यस्तो अवस्थामा आन्तरिक विवाद र शक्ति संघर्षका कारण उक्त सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेका थिएनन् । त्यसको असर देशको स्थिरता र विकासमा परेको थियो । यसपटक रास्वपाले प्राप्त गरेको नतिजाले विगतको राजनीतिक अस्थिरतालाई चिर्ने अपेक्षा गरिएको छ ।
बहुमतको सरकार गठन हुने भएपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित छन् । सबैं दलका उम्मेदवारले सार्वजनिक गरेका स्थानीय वाचापत्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन प्राथमिकतामा परेकाले उनीहरु खुसी भएका हुन् । बहुमतको स्थिर सरकार बन्ने भएपछि पर्यटन क्षेत्रमा उत्साह सञ्चार भएको एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापाले बताए ।
‘यस अघिका सरकारले प्रयास गरे पनि ठोस परिणाम दिन सकेनन्,’ उनले भने, ‘यसपटक झण्डै दुई तिहाइको सरकार बन्ने भएकाले विमानस्थलको नियमित सञ्चालनका लागि पहल हुने विश्वास लिएका छौं ।’ भारतको बोधगया र दिल्ली लगायतका अन्तर्राष्ट्रिय गन्तव्यसँग हवाई कनेक्टिभिटी बढाउन सके पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने उनले बताए ।
लगानीमैत्री वातावरण र सुरक्षा जरुरी रहेको च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । निजी क्षेत्रले सधैँ शान्ति र स्थायित्व खोज्ने उनले बताए । नयाँ बन्ने सरकारले लगानीकर्ताका लागि सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए । ‘निजी क्षेत्र र सरकारबीच बलियो सहकार्य आवश्यक छ,’ भण्डारीले भने, ‘उद्योग र व्यापारमैत्री नीति ल्याएर लगानीको सुरक्षा सुनिश्चित गरिएमा मात्र देशको आर्थिक विकास सम्भव छ ।’
उद्योगी ऋषिकेश अग्रवालले व्यवसायिक वातावरण बने सरकारको काम देखिने जनाए । ‘कर नीति कस्तो ल्याउँछ, त्यसले धेरै कुरा निर्धारण गर्छ’, उनले भने, ‘सँगसँगै सुस्त उद्योग व्यवसाय चलायमान बनाउन विशेष योजना ल्याउन जरुरी छ ।’ उनले वर्षौं पहिला स्थापना भएका भैरहवा–लुम्बिनी कोरिडोरका उद्योग स्थानान्तरण गर्नुभन्दा व्यवस्थित गर्नुपर्ने बताउँदै नयाँ बन्ने सरकारको ध्यान जानुपर्ने जनाए । यस्तै, निर्यातजन्य उद्योग स्थापना, नाका व्यवस्थापन, विमानस्थल संचालन, पुँजीगत खर्चमा बढवा दिनुपर्ने उनको बताए । पुँजीगत खर्च बढेमा निजी क्षेत्र धेरै हतसम्म माथि उकासिनेन उनले जनाए ।








लेखकको सम्वन्धमा