गौतम बुद्ध विमास्थल चलाउन पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड


भैरहवा– निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा सबै क्षेत्रको टाउको दुखाई भइरहेको छ । यस्तो विमानस्थल कार्यालयले भने नियमित उडान गराउन पर्यटक बृद्धि योजना अघि सार्नुपर्ने प्रस्ता अगाडि सारेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले निजी क्षेत्रसित मिलेर नेपालका गन्तव्य समेटिएको टुर प्याकेज तयार गरेर भारत लगायत दक्षिण एसियाली मुलुकमा पर्यटन प्रवद्र्धनका लागि पहल भइरहेको जनाए । धेरै पर्यटन आउने माहोल तयार गर्न विमानस्थलले एक साता अघि निजी क्षेत्रका प्रतिनिधिसित बैठक आयोजना गरेको थियो । त्यसैको निरन्तरता स्वरुप सोमबार बैठक आयोजना गरिएको उनले बताए । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने लक्ष्य पूरा गर्न पर्यटक बृद्धि योजना अघि सारिएको उनले बताए ।
रुपन्देहीस्थित टुर्स एण्ड ट्राभल्स व्यवसायीलाई लुम्बिनी प्रदेशका गन्तव्य सेमेटेर व्यवस्थित टुर प्याकेज निर्माणको जिम्मा दिइएको छ । ‘पर्यटक बढेपछि मात्र साधनको कुरा आउछ,’ साहले भने, ‘विमानस्थल र जहाज छन्, तर पर्यटन प्रवद्र्धन हुन सकेको छैन ।’ हवाई यात्रु बढ्नासाथ अन्तर्राष्ट्रिय विमान कम्पनीले भैरहवाबाट उडान सञ्चालन गर्ने उनको भनाई छ । त्यसका लागि टुर प्याकेज तयार गरेर विदेशमा पर्यटन प्रवद्र्धन गर्नुपर्ने उनले बताए । ‘सातामा दुई दिन उडान गरिएको थाई एयर एसियाको जहाजलाई पनि यात्रु अभाव छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले जिल्लास्थित निजी क्षेत्रसित समन्वय गरेर मुलुकमा विदेशी पर्यटक बढाउने योजना अघि सारेको हो । सञ्चालनको करिब चार वर्ष अवधिमा विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले भैरहवा उडान सुरुआत गरेपनि यात्रु अभावमा नियमित हुन नसकेपछि विमानस्थल व्यवस्थापनले जतिसक्दो धेरै पर्यटन आमन्त्रित गर्न पहल थालेको हो । उद्योगी–व्यवसायी, टुर्स एण्ड ट्राभल्स संघसंस्थासित मिलेर पर्यटक आकर्षित गर्ने योजना अघि सारिएको हो । यहाँका गन्तव्यबारे प्रचार गरेर धेरै पर्यटक भित्र्याउने बित्तिकै स्वतः अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने विमानस्थलको भनाई छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय उडान नियमित गराउन अहिलेसम्मका प्रयास विफल भएको बताए । ‘विमानस्थल व्यवस्थापन र निजी क्षेत्रले गर्ने संयुक्त प्रयासबाट मात्र सफल भइन्छ,’ उनले भने, ‘मुलुकभित्र अन्तरप्रदेश उडान पनि सञ्चालन गरौं । त्यसले भैरहवामा यात्रुको संख्या बढाउन मद्दत गर्छ ।’ भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीसित भेट गरेर भएपनि पर्यटन आउने वातावरण तयार गर्नुपर्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थल सञ्चालनका लागि निजी क्ष्ँेत्रका संस्थाहरु बीच जिम्मेवारी वाँडफाँड गरिनु पर्ने बताए । कुन संस्थाले के काम गर्ने भन्ने विषयमा अब तोकेरै जानु पर्नेमा जोड दिए । ‘कस्तो प्याकेज तयार गर्ने बारेमा छलफल गरौं,’ उनले भने, ‘अहिले हामीलाई थाइ एयर एसिया टिकाउनै चुनौंती छ ।’ अर्को साता सम्पूर्ण निजी क्षेत्रका संस्था बोलाएर छलफल गरेर जिम्मेवारी बाँडिने उनले बताए ।
महाप्रवन्धक साहले यसै साता लुम्बिनी भ्रमणमा आएकी थाइल्याण्डकी राजकुमारी समक्ष उडान नियमित गराउन र अहिलेसम्मको सहयोगकालागि अभार व्यक्त गरिएको जानकारी दिए । भारत हुँदैं आएकी थाइ राजपरिवारकी सदस्यले लुम्बिनीस्थित राजकीय थाई विहारमा बसेकी थिइन । त्यसक्रममा मायादेवी दर्शन गरिन । एक दिन बसेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदैं चाटर्ड विमानबाट स्वदेश फर्किएकी थिइन । विमानस्थलमा पञ्चकन्यासहित स्वागत तथा बिदाई कार्यक्रम राखिएको थियो । यस क्रममा साहले आभार पत्र हस्तान्तरण गरेका थिए ।
पर्यटन व्यवसायी सागर अधिकारीले दुई वर्षदेखि विमानस्थल सञ्चालनका लागि गरिएका दबाबमुलक आन्दोलनबाट उपलब्धि नभएकाले अब स्थानीय संरचना निर्माण गरेर पर्यटन प्रवद्र्धनसँगैं राज्यका निकायमा घचघच्याउन जानुपर्ने बताए । ‘बुद्धिष्ट सर्किटमा आउने पर्यटक सिजनेवल हुन्छन्,’ उनले भने, ‘त्यसैले यात्रु नभएका बेला लुम्बिनी प्रदेशका निजी क्षेत्रका प्रतिनिधिलाई विदेश घुमाएर भएपनि उडानलाई निरन्तरता दिनु पर्छ, त्यसका लागि एकजुट होऔं ।’
चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष जेपी कंडेलले विदेशमा लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे जानकारी नभएको बताए । ‘विदेशी गाइडलाई बुद्ध जन्मस्थल लुम्बिनीबारे जानकारी छैन,’ उनले भने, ‘त्यसैले निजी क्षेत्रका संस्था मिलेर अब पर्यटन प्रवद्र्धन गर्न जरुरी भयो ।’ नेपालमा आन्तरिक हवाई सेवा प्रदान गरिरहेका विमान कम्पनीमा पनि गौतमबुद्ध विमानस्थलका सेवा सुविधाको प्रचार हुने सामाग्री समेटिएको बुलेटिन राख्नु पर्ने उनले बताए ।
नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापाले भैरहवाबाट थाइल्याण्ड जाने यात्रुको चाप भए पनि उताबाट जहाज रित्तै आउने गरेको बताए । थाइल्याण्डबाट सिधैं भैरहवा आउने यात्रु बढाउने उपाय खोजिनु पर्ने उनले बताए । अहिले थाइल्याण्डबाट आउने बौंद्ध धर्मावलम्वी पनि भारत हुँदैं आइरहेका छन् । ‘थाइल्याण्डमा नेपालका पर्यटकीय गन्तव्य र अन्तर्राष्ट्रिय विमानस्थलबारे प्रचार गर्नुपर्यो,’ उनले भने, ‘त्यसका लागि रुपन्देहीका निजी क्षेत्रबीच सहकार्य आवश्यक छ ।’








प्रतिकृया दिनुहोस्