नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुने


भैरहवा–नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुने भएको छ । महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी गर्न लागिएको हो ।
यही माघको १४ देखि माघ १८ गतेसम्म नेपालगन्ज उपमहानगरपालिका २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा उक्त प्रदर्शनी सञ्चालन हुनेछ । महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्न महिला उद्यमी संघ नेपाल बाँकेले बर्षेनी नेपालगन्जमा प्रदर्शनी गर्दै आएको छ ।
महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्न यो प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजक महिला उद्यमी संघ नेपाल बाँकेकी अध्यक्ष रेवती सिंहले बताइन । प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्ला र कर्णाली र सुदूरपश्चिमका समेत गरी करिब २ सय महिला उद्यमीको सहभागिता रहने प्रदर्शनी संयोजक एवम महिला उद्यमी संघ नेपाल बाँकेकी प्रथम उपाध्यक्ष आभा गौतमले बताइन ।
करिब ७० वटा स्टल रहने प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु,फलोरिकल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, शृङ्गार तथा गरगहनालगायतका सामग्री तथा वस्तु बिक्री, प्रचारप्रसारका लागि राखिने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रदर्शनी अवलोकन गर्नका लागि निःशुल्क व्यवस्था गरिएको छ । प्रर्दशनीका क्रममा महिला उद्यमीहरुको क्षमता अभिवृद्धिको लागि बैंकिङ कारोबार, उद्यमशीलताको बारेमा अभिमुखीकरण कार्यक्रमको पनि आयोजना गरिने जनाइएको छ ।








प्रतिकृया दिनुहोस्