‘पर्यटकको बसाईं अवधि लम्ब्याउन सबै सरोकारवाला एक ठाँउमा उभिऔं’


भैरहवा- लुम्बिनी र आसपास क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरोकारवाला सबै निकाय एउटै स्थलमा एकताबद्ध हुँदै पर्यटन विकासका सम्भावनाको खोजी र चुनौतीलाई केलाउनु पर्नेमा सम्बद्ध व्यवसायीले जोड दिएका छन् ।
बुधवार भैरहवामा आयोजित होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको १२औं साधारण सभा तथा ७औं अधिवेशनबाट निर्बाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी व्यवसायीले लुम्बिनी, भैरहवा र बुटवल लगायतका आसपासका क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तब्य स्थल भएर पनि पर्यटन व्यवसायको माध्मबाट फाइदा लिन नसकेको बताए । यस क्षेत्रमा आउने स्वदेशी तथा बाह्य पर्यटकलाई धेरै समयसम्म अड्याउने खालका गतिबिधि हुन नसक्दा पर्यटकको बसाईं अवधि लम्बिन नसकेको भनाइ उनीहरुको छ ।
संगठनका नवनिर्बाचित अध्यक्ष तथा पर्यटन व्यवसायी राजेश महोत्रा क्षेत्रीले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सवै व्यवसायी र सरोकार राख्ने सम्पूर्ण संघसँस्था तथा सरकारी निकायसँग समन्वय गरि लुम्बिनी क्षेत्रलाई ‘पर्यटन मैत्री सहर’ बनाउन जरुरी भएको बताए । ‘पर्यटन मैत्री सहर बनाउनका लागि सबै पर्यटन व्यवसायी तथा सरोकारवाला निकाय एक ठाउँमा आवद्ध भएर आकर्षक टुर प्याकेज बनाउन आवश्यक छ’, महोत्राले भने, ‘पर्यटन व्यवसायमा अवसर र चुनौती दुवै पक्षको बिश्लेषण गरि पर्यटन प्रवर्द्धनका योजना बनाउँदै पर्यटन मैत्री नीति नियमका लागि सम्बद्ध निकायमा दवाव दिन जरुरी छ ।’
लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लिलामणि शर्माले लुम्बिनी र आसपासका पर्यटन क्षेत्रमा अर्बौं रुपैयाँको लगानी भए पनि पर्यटनको मुख्य धरातल के हो ? भन्ने वारेमा बिश्लेषण गरि ठोस कदम चाल्न्न नसक्दा यस क्षेत्रका पर्यटन व्यवसाय फस्टाउन नसकेको बताए । ‘पोखरा, चितवन, बर्दियाले हिमाल, तालतलैया, बन्यजन्तुको माध्यमबाट पर्यटन विकास गरिरहँदा हामी लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी यतिधेरै सम्भावनायुक्त स्थानमा रहेर पनि लुम्बिनीले के गर्दैछ ? भन्ने प्रश्न उठ्ने गर्छ’, उनले भने, ‘लुम्बिनी क्षेत्रको पर्यटनको जग भनेको आध्यात्मिक पर्यटन नै हो । लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवा र लुम्बिनीका पर्यटन सवै व्यवसायी एक ठाँउमा उभिएर पर्यटनको जग बसालौं ।’ बिश्वका १ अर्व भन्दा धेरै बौद्ध धर्मावलम्बीका लागि आस्थाको केन्द्र भएर पनि लुम्बिनीमा उनीहरुलाई ल्याउने बातावरण बनाउन नसकिएको भनाइ उनको थियो ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले पर्यटन व्यवसाय फस्टाउने नाममा कस्तो पर्यटकलाई प्राथमिकता दिने ? भन्ने प्रश्नको उत्तर पनि महत्वपूर्ण रहेको बताए । ‘हामीले गुणस्तरीय पर्यटकको खोजी गरि त्यस्ता पर्यटकलाई ल्याउने बातावरण बनाउने की ? जुवा, तास खेल्ने, मदिरा पिउँदै अपराधिक क्रियाकलाप गर्ने र यौनधन्दामा संलग्न हुने खालका पर्यटकलाई उत्साहित हुने खालको बातावरण बनाउने ?’ प्रश्न गर्दै क्षेत्रीले भने, ‘पर्यटन व्यवसाय र व्यवसायीकै सुरक्षाका लागि सुरक्षा निकायले चालेको कदमलाई पर्यटक हतोत्साहित भए भन्न मिल्दैन ।’
सिमा नाकाबाट प्रवेश गरेका पर्यटकलाई सुरक्षा निकायले ठाउँठाउँमा चेकजाँच गरेर हतोत्साहित गराइने गरिएको भन्ने कुराको प्रतिवाद गर्दै उनले पर्यटकलाई राख्ने होटलकै बेथितिले गर्दा होटलमा गोली चल्दा र अपराधीलाई चिन्दा पनि पारीबाट ल्याउन समस्या भएको जनाए । सुरक्षा चेकजाँच गर्न नपर्ने खालका पर्यटकलाई कार्ड दिनुस् भन्दा पनि होटेल व्यवसायीले दिन नसक्ने र सुरक्षाकर्मीले सुरक्षा दिन सकेनन् भन्न नमिल्ने बताउँदै क्षेत्रीले रातभरी होटल सञ्चालन गर्ने हो भने राती ९ बजेपछि मदिरा उपलब्ध नगराउन आग्रह गरे । व्यवसायी सुरक्षित रहेमा मात्रै बल्ल पर्यटन व्यवसाय सुरक्षित रहने भनाइ उनको थियो ।

बरिष्ठ पर्यटन व्यवसायी माधव नेपालले ताल, हिमाल, बन्यजन्तु, मरभूमि जस्ता प्राकृतिक सम्पदा नभए पनि लुम्बिनी क्षेत्रमा प्रशस्त पुरातात्विक तथा ऐतिहासिक स्थल रहेकाले सबै होटलको कोठा कोठामा लुम्बिनी क्षेत्रमा रहेका त्स्ता पर्यटकीय गन्तब्य स्थलहरुको छोटो बिबरण सहित तस्वीर राखेर पर्यटकलाई आकर्षण गर्न सकिने बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक मुरारीप्रसाद पौडेलले नेपालमा उडान गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरु सहित सम्पूर्ण पर्यटन व्यवसायी र सरोकारवाला निकाय एकै स्थानमा आएर एकीकृत पर्यटन योजना बनाउन जरुरी रहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालन भएन भनेर मात्र भनिरहनु भन्दा भारतीय पर्यटकलाई सहज रुपमा भित्राउनका लागि पहलकदमी गर्न आवश्यक रहेको बताए । सिद्धार्थनगरकी उपप्रमुख उमा अधिकारीले लुम्बिनी क्षेत्रको पर्यटकीय विकासका लागि रात्रीकालिन बजारको आवश्यकता रहेको र पर्यटकका लागि लुम्बिनी क्षेत्र सुरक्षित रहेको सन्देश दिन आवश्यक रहेको बताइन् ।
सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भारतीय पर्यटकले २५ हजार रुपैयाँसम्म लिएर नेपाल आउन पाउने नियमले नेपालको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पारेको बताए । नेपाल चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचिन रोक्काले सडक खाना महोत्सव लगायतका पर्यटन प्रवर्द्धनात्मक कार्यक्रममा ठूला र गुणस्तरीय होटलकै सहभागिता नहुने गरेको गुनासो गरे ।
संगठनका निबर्तमान अध्यक्ष रामप्रसाद पोखरेलले पन्ध्र बर्ष अघि ४५–५० जना होटल तथा रेष्टुरेन्ट व्यवसायी मिलेर खोलेको यो संगठन अहिले रुपन्देहीका ६ वटा पालिकामा बिस्तार भइ ६ सयजना सदस्य आबद्ध रहेको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बेलहिया नाकाबाट सर्वाधिक बिदेशी पर्यटक नेपाल प्रवेश गर्ने गरे पनि ती पर्यटकलाई नयाँ नयाँ पर्यटकीय गत्नब्य स्थलहरुमा पुर्याउन नसकिएकाले यसतर्फ ध्यान दिन जरुरी भएको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पर्यटन प्रवर्द्धनका लागि सञ्चारकर्मीहरु व्यवसायीसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको जनाउँदै पर्याप्त पर्यटक भित्राउन व्यवसायीले सरकारकोमात्र मुख नताकेर आफ्नो क्षेत्रबाट पनि पहल गर्न जरुरी रहेको बताए ।








प्रतिकृया दिनुहोस्