June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

हिउँदे बाली सिँचाइका लागि पश्चिम गण्डक नहरमा पानी छाडियो

Advertisement

भैरहवा–यस बर्षको हिउँदे बाली सिँचाइका लागि गण्डक पश्चिमी नहरमा पानी छाडिएको छ । उक्त नहरबाट पश्चिम नवलपरासीको ६ वटा स्थानिय तहका किसान लाभान्वित हुने छन् ।

Advertisement

गण्डक नहर व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख तिलकराम बुढाथोकीले हाल नहरमा ८ दशमलव ५ मिटर क्युब प्रतिसेकेन्डका दरले नहरमा पानी आइरहेको जनाएका छन् । त्रिवेणीस्थित नारायणी नदीमा बनाइएको गण्डक नहर बाँधबाट पश्चिम नवलपरासी जिल्लाका लागि निर्माण गरिएको यो नहर ३२ किमी लम्बाईको छ ।

त्रिवेणीस्थित नहरको मुखमा बालुवा थिग्य्राउने पोखरी निर्माण गरेपछि यस वर्ष नहरमा बालुवा भरिने समस्या कम भएकाले सहज रूपमा पानी आएको बुढाथोकीले बताए । पश्चिमी गण्डक नहरमा पानी आएपछि पश्चिम नवलपरासीमा करिव ७ हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ उपलब्ध हुने गर्छ । जसबाट गहुँ, तोरी, तरकारीलगायतका हिउँदेबाली सिँचाइका लागि किसानलाई सहज हुने छ ।

अझै पनि नहरको मर्मतसम्भार पूरा नहुँदा नहरमा क्षमता अनुरुपको पर्याप्त मात्रामा पानी आउन सकेको छैन । विभिन्न शाखा कन्ट्रोल प्यानल र सानाठुला कुलासमेत मर्मत हुन सकेका छैनन् । बर्षेनी मर्मतको नाममा ठूलो रकम खर्च हुने गरे पनि मर्मतको काम पूरा हुन सकेको छैन ।

बुढाथोकीका अनुसार, चालु आर्थिक वर्षमा झण्डै ६ करोड रुपैयाँ बराबरको नहर मर्मतसम्भारका लागि ठेक्का आह्वान भएको छ । विशेष गरी शाखा नहरको मर्मत सम्भार गर्ने गरी ठेक्का आह्वान गरिएको हो । गत आवमा बालुवा थिग्य्राउने प्रविधिको निर्माण गरिएको थियो । नारायणी नदीस्थित नहरको नियन्त्रण क्षेत्रमा बालुवाले नहर नभरियोस् भनेर बालुवा थिग्य्राउने पोखरी तयार गरिएको हो । बालुवा नथिग्य्राउँदा नहरको पानीसँगै आउने वालुवा किसानको खेतमा पुग्ने गरेको र खेतको उर्वराशक्ति घट्दै जाने समस्याले किसान पीडित थिए ।