कजरिया टायल्स उद्योगको अवस्था अझै असामान्य, उद्योग बन्द


भैरहवा–चार दिन अघि मृत अवस्थामा फेला परेका दुईजना मजदुरको घटनालाई लिएर पश्चिम नवलपरासीस्थित कजरिया टायल्स उद्योगको अवस्था अझैपनि असामान्य छ । उद्योगको सम्पूर्ण कामकाज अनिश्चितकालिन बन्द छ ।
उद्योग व्यवस्थापन पक्षको लापरबाहीका कारण ती मजदुरको मृत्यु हुन पुगेको भन्दै पीडित पक्षले क्षतीपूर्तिको माग राखेका छन् । माग सम्बोधन नभएसम्म उद्योगको सम्पूर्ण कामकाज बन्द भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित रहेको यो उद्योग परिसरमा तनाव कायमैं छ ।
गत १७ गते उद्योग भित्र मृत फेला परेका बर्दघाट–१३ का होमबहादुर थापा र भारतीय नागरिक भारत उत्तर प्रदेश, प्रतापगण जिल्लाका ३० वर्षीय विनोद कुमारको मृत्यु ग्यास चुहावटका कारण निसास्सिएर भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
ग्यास आसपासको जोखिमपूर्ण क्षेत्रमा काम गर्ने ती कामदारहरूका लागि उद्योगले अनिवार्य सुरक्षा पोसाक उपलब्ध नगराएका कारण उनीहरूको ज्यान गएको पीडित पक्षको आरोप छ । प्रहरीका अनुसार उद्योगको ‘ग्यासी फायर पोकिङ फ्लोर’ मा कागजको गत्ता ओछ्याएर सुतिरहेको अवस्थामा उनीहरु मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीका अनुसार, पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन उद्योगका आधिकारिक व्यक्तिहरूको रोहबरमा पुनः वार्ता गर्ने सहमति भएको छ ।
मृतकका परिवारलाई १ करोड रुपैयाँ राहत, पीडित परिवारका सदस्यलाई रोजगारी र मृतकका सन्तानलाई उच्च शिक्षाको ग्यारेन्टी हुनुपर्ने माग पीडित पक्षले राखेका छन् । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले पीडित पक्षका न्यायोचित मागहरू पूरा नभएसम्म उद्योग बन्द रहने गरी सर्वपक्षीय सम्झौता भएको जनाउँदै पीडितलाई उचित न्याय दिलाउन प्रतिबद्ध रहेको बताएका छन् ।
कजरिया टायल्सका प्रबन्धक हिमान्सु अग्रवालले मृत्युको वास्तविक कारण प्रहरी अनुसन्धानबाट खुल्ने बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।








प्रतिकृया दिनुहोस्