ओमसतिया गाउँपालिकाको हिउँदे अधिवेशन सुरु


भैरहवा–रुपन्देहीको ओमसतिया गाउँपालिकाको आव २०८२–२०८३ को हिउँदे अधिवेशन सुरु भएको छ । शुक्रबार सुरु उक्त अधिवेशनमा चालु वर्षको खर्च तथा राजस्व संकलनको समीक्षा गरिएको छ ।
अधिवेशनले केही स्थानीय ऐन समेत संशोधन र पारित गर्ने पालिकाले जनाएको छ । अधिवेशनमा चालु वर्षको विवरण पेस गर्दै पालिका उपाध्यक्ष सुनिता चौधरीले बजेट कार्यान्वयन र आन्तरिक आम्दानी लक्ष्यअनुसार हुन नसकेको जनाइन् । पालिकाले आर्थिक वर्ष २०८२–२०८३ मा आन्तरिक आम्दानीबाट ३ करोड ८७ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा पुस १५ सम्म जम्मा १ करोड ३७ लाख २० हजार रुपैयाँ संकलन भएको बताइन् ।
त्यसैगरी चालु आवमा गाउँपालिकाले खर्चतर्फ ३३ करोड ८ लाख ३४ हजार बजेट विनियोजन गरेकोमा पुस १५ सम्म १० करोड १५ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये पूँजीगततर्फ १७ करोड १२ लाख बिनियोजित भएकोमा २ करोड ३८ लाख ६५ हजार रुपैयाँ गरि कुल खर्च १२ करोड ५३ लाख ६७ हजार रुपैया भएको छ ।
चालु आव २०८२–२०८३ का लागि गाउँपालिकाको आन्तरिक श्रोततर्फको अनुमानमा ३० लाख बृद्धि गरि ४ करोड १७ लाख रुपैयाँ कायम हुने गरि कुल ५० करोड ५१ लाख १४ हजार राजश्व तथा अनुदान प्राप्तको संशोधित अनुमान गरिएको उनले जनाइन् ।
स्थानीय स्तरमा राजस्व अभिवृद्धि, कार्यक्रम कार्यान्वयनको गति र वित्तीय व्यवस्थापन सुधार गर्नुपर्नेमा गाउँसभाले जोड दिएको छ । गाउँसभाले आगामी महिना तथा वर्षहरुमा योजनाहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्दै विकासका गतिविधि तीव्र बनाइने प्रतिबद्धता जनाइएको छ ।
उपाध्यक्ष चौधरीले गाउँपालिकाको आम्दानीको श्रोतलाई लक्ष्यअनुसार भेटाउन बाँकी आगामी दिनमा कर संकलन प्रभावकारी बनाउने रहेको जनाएकी छन् ।








प्रतिकृया दिनुहोस्