सीमामा कडा सुरक्षा र तस्करी नियन्त्रणको माग गर्दै ज्ञापनपत्र


भैरहवा–सीमा नाकामा कडा सुरक्षा चेकजाँचको व्यवस्था र तस्करी नियन्त्रणको माग गर्दै नेपालगञ्ज उद्योग वाणिज्य संघले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको ५८ औं वार्षिकोत्सवको अवसरमा संघका कार्यवाहक चिरञ्जीवी ओलीले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल मार्फत् लुम्बिनी प्रदेश सरकारलाई उक्त ज्ञापनपत्र बुझाएका हुन ।
सात बुँदामा समेटिएको ज्ञापनपत्रमा सीमा नाकामा कडाई नगर्दा नेपालगञ्जको व्यापार व्यवसाय धराशायी बन्दै गएको जनाइएको छ । सीमावर्ती बजार रूपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जस्तै नेपालतर्फको जमुनाहा नाकामा पनि परिचय पत्रको चेकजाँच गर्ने व्यवस्था लागू गर्न माग गरिएको छ ।
तस्करी हुने सम्भावित नाकाहरुमा ब्यारिएर र शसस्त्र प्रहरीको अस्थायी पोस्ट राख्नुपर्ने, पाइडल रिक्सालाई निर्बाध रुपमा हुने गरेको सीमा वारपार रोक्नु पर्ने, सशस्त्र द्वन्दको बेला बन्द गरिएका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडाका छोटी भन्सारहरु पुनः सञ्चालन गर्नु पर्ने माग संघले गरेको छ ।
भारततर्फबाट नेपाल प्रवेस गर्दा जमुनाहा नाकामा स्क्यानर मेसिन राखेर अनिवार्य रूपमा चेकजाँचको व्यवस्था गर्नु पर्ने र नेपालगञ्ज भन्सारले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसक्नुको बारे अध्ययन गरी अवैध आयात निर्यातमा संलग्न प्रहरी, प्रशासन र भन्सार कर्मचारीहरूलाई समेत कारबाही गर्नु पर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री अग्रवालले तस्करी र क्यारिङ नियन्त्रण गर्न नसके प्रहरी प्रशासनलाई कारबाही गर्ने बताए । आफुले प्रहरी र प्रशासनका उच्च अधिकारीहरूलाई यस वारेमा बारम्बार ताकेता गरिरहेको उल्लेख गर्दै तस्करी रोक्न फेरि पनि निर्देशन दिने बताए । सीमा नाकाहरुबाट भइरहेको तस्करी र अवैध आयातप्रति आँफु निकै गम्भीर रहेको र यस बारेमा संघीय सरकारको गृृह मन्त्रालय र सुरक्षा प्रमुखहरुसँग पनि कुरा गर्ने बताए ।
केही दिन अघि भैरहवामा आयोजित एक औपचारिक कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आर्चालेपनि लुम्बिनीका भारतीय सिमावती नाकाहरुबाट खुलेआम तस्करी भैरहेको कुरा संघीय सरकारका गुहमन्त्री समक्ष बताएका थिए ।








प्रतिकृया दिनुहोस्