सशस्त्रद्वारा नवलपरासीमा एक सातामा ९० लाखका तस्करीका सामान नियन्त्रण


नवलपरासी– सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सीमा क्षेत्रबाट ठूलो परिमाणमा अवैध रुपमा नेपाल ल्याइएका मोबाइलका कभर र टेम्पर्ड बरामद गरेको छ । शनिबार जिल्लाको पाल्हीनन्दन गाउँपालिकास्थित नेपाल–भारत सीमा नजिकबाट करिब १७ लाख रुपैयाँ बराबरको सामग्री बरामद गरिएको हो ।
‘सरप्राइज’ अप्रेसन सशस्त्र प्रहरी बल २६ नं. गण बेलासपुर र सीमा सुरक्षा गुल्म महेशपुरको संयुक्त टोलीले पाल्हीनन्दन–५, सिसवागाउँमा विशेष अप्रेसन चलाएको थियो । सो क्रममा भारतबाट अवैध रूपमा भित्र्याइएका मोबाइलका कभर तथा टेम्पर्ड ग्लासहरू बरामद गरिएको हो । बरामद गरिएका सामग्रीहरू आवश्यक लिलामी प्रक्रियाका लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो समय नवलपरासी पश्चिममा सशस्त्र प्रहरीले तस्करी विरुद्धको अभियानलाई तीव्र पारेको छ । २६ नं. गणका अनुसार गएको एक साताभित्र मात्रै इलेक्ट्रोनिक सिगरेट (भेप), कफीका दाना, मोबाइल एक्सेसरीज लगायतका झण्डै ९० लाख रुपैयाँ भन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरी भन्सार बुझाइएको छ ।
२६ नं. गणका गणपती एसपी सन्तोष रायमाझीको नेतृत्वमा सीमा क्षेत्रमा ‘तस्करी नियन्त्रण अप्रेसन’ प्रभावकारी रूपमा अगाडि बढेको छ । भारतीय सीमा नाकाबाट हुने नियमित तस्करीमा प्रहरीले कडाइ गरेपछि स्थानीय वैधानिक व्यापारीहरूले खुसी व्यक्त गरेका छन् । प्रहरीको सक्रियताले राजस्व चुहावट नियन्त्रण हुनुका साथै स्थानीय बजारमा हुने अस्वस्थ प्रतिस्पर्धामा कमी आउने विश्वास लिइएको छ ।








लेखकको सम्वन्धमा