June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

‘राष्ट्र बैंकको चालु कर्जापूँजीको प्रभावका कारण अर्थतन्त्र संकटमा’

Advertisement

भैरहवा– नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरले भैरहवामा लुम्बिनी प्रदेशमा चालु पुँजी कर्जाको प्रभावकारिता विषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीका प्रतिनिधि, चालू पूँजी कर्जा उपभोग गरेका व्यवसायी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा लेखापरीक्षकहरुको सहभागिता थियो ।

Advertisement

राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्यले चालु कर्जा पुँजी लगानी मार्गदर्शनमा व्यवसायीका गुनासहरुका विषयमा छलफल तथा सुझाव संकलन गर्ने कार्य भएको बताए । उनले चालु कर्जा पुँजी लगानीको उपभोग र थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको जानकारी दिए । छलफलले नेपाल राष्ट्र बैंकलाई नीतिगत कार्यमा समेत सहयोग पुराउने निर्देशक आचार्यको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले चालू पुँजी कर्जालाई लचिलो बनाउनुपर्ने भन्दै व्यवसायीहरुको पक्षमा नीतिगत निणर्य गर्न आग्रह गरे । उनले बैंकहरुको नीतिगत अस्पष्टताका कारण ठुला उद्योगी व्यवसायीहरु, पर्यटन तथा होटल र उत्पादन क्षेत्रका उद्योगहरुले सहज कर्जा प्राप्त नगर्दा अर्थतन्त्र सुस्ताउँदै गएको बताए । देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी व्यवसायीहरुलाई सहज कर्जा प्रभाव गरि आर्थिक समृद्धिमा राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने अध्यक्ष शर्माले सुझाव छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा लगानीमा कडाई गर्दा उद्योगी व्यवसायी धरापमा परेको भन्दै यसलाई सरल बनाउनुपर्ने माग गरे । देशले खोजेको र उद्योगी व्यवसायीको पक्षमा सकारात्मक सहयोग पुग्ने प्रकारले चालु कर्जा पुँजी लगानी मार्गदर्शनलाई संशोधन गर्न सुझाव उनको छ ।

संघका पूर्व अध्यक्ष तथा युवा व्यवसायी ठाकुरकुमार श्रेष्ठले नेपालको अर्थतन्त्र शिथिल बनाउनमा नेपाल राष्ट्र बैंकको चालु कर्जा पुँजी लगानी मार्गदर्शनले अवरोध गरेको बताए । नेपाल राष्ट्र बैंकको कर्जा प्रवाहमा जटिलता हुँदा देशमा अहिले १ लाख ५० हजार भन्दा बढि उद्योगी, व्यवसायी कालोसुचीमा परेको पूर्व अध्यक्ष श्रेष्ठको गुनासो छ । उनले चालु कर्जा पुँजी लगानी मार्गदर्शनलाई व्यापक रुपमा संशोधन गर्नुपर्ने भन्दै यसैका कारण धेरै उद्योगी व्यवसायी डिप्रेशनमा पुगेको बताए ।

चालु कर्जा पुँजी लगानी मार्गदर्शन हाम्रो माटो सुहाँदो हुनुपर्नछ । श्रेष्ठले भने, ‘नेपाल राष्ट्र बैंक कर्जा प्रवाह सम्बन्धी परिभाषालाई बैंकहरुले आफू अनुकुल फरक–फरक व्याख्या गर्दा उद्योगी व्यवासायीलाई समस्या परेका छन् ।’ बैंकहरुले उद्योगी व्यवसायीलाई फकाई–फकाई कर्जा प्रदान गर्ने र पछि विभिन्न वहाना बनाएर तनाव दिने प्रवृत्ति नेपालमा रहेको भन्दै यसको अन्त्य हुनुपर्ने माग पूर्व अध्यक्ष श्रेष्ठको छ ।

नेपालमा पछिल्लो समय चालु कर्जा पुँजी लगानी मार्गदर्शनका कारण देशमा अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परेपछि उद्योगी व्यवसायी तथा अर्थविदहरुले विरोध जनाउँदै आएका छन् । यसको संशोधन र लगानीमैत्री हुनुपर्नेमा सवै पक्षको जोड छ ।