आन्दोलनले भैरहवा भन्सार सोमबार ठप्प


भैरहवा- भन्सार क्लियरिङ एजेन्टमा कार्यरत कर्मचारीले गरेको आन्दोलनबाट मुलुककै दोस्रो ठुलो भैरहवा भन्सार कार्यालय सोमबार दिनभरि ठप्प रह्यो । नयाँ भन्सार ऐनमा लागु गरिएको भन्सार प्रज्ञानपत्रमा घोषणाकर्ताले उल्लेख गरे अनुरुपको कागजात वा बिवरण फरक परेमा गरिने जरिवानाको प्रावधान प्रति असहमती जनाउँदै भन्सार क्लियरिङ एजेन्टमा कार्यरत कर्मचारीले आन्दोलन गरेका हुन् । यो आन्दोलन आइतबार बिरगञ्ज भन्सार कार्यालयबाट सुरु भएको हो ।
उनीहरुको आन्दोलनले भन्सार राजश्व सम्बन्धि कुनै पनि काम सोमबार बिहानदेखि नै हुन नसकेको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले बताए । ‘आन्दोलनले बिहानै देखि नै कुनै पनि भन्सार जाँचपास हुन सकेको छैन । भन्सार जाँचपासका लागि कुनै पनि डकुमेन्ट भन्सारमा आएको छैन’, भन्सार प्रमुख पौडेलले भने, ‘यसबारेमा भन्सार बिभागदेखि सम्बन्धित निकायहरुमा जानकारी गराएको छु ।’
भन्सार राजश्व असुलीमा भैरहवा भन्सार कार्यालय बीरगञ्जपछिको मुलुककै दोस्रो ठुलो भन्सार हो । दैनिक सरदर ३३ करोड रुपैयाँ भन्सार राजश्व असुली गर्ने यो भन्सारले मंसिर महिनामा ८ अर्व ५९ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य छ । आइतबार २७ करोड रुपैयाँ भन्सार राजश्व असुली भएको थियो ।

मंसिर २० गतेदेखि लागु भएको नयाँ भन्सार ऐनमा घोषणाकर्ताले प्रज्ञानपत्रमा भरेको बिबरण भन्सार जाँचपास गर्दा फरक परेर मेल नखाएमा प्रज्ञापनपत्रमा उल्लेख गरिएको सामानमा लाग्ने भन्सार महसुलको १० प्रतिशत जरिवाना असुल गर्ने प्रावधान छ ।
उक्त जरिवानाको प्रावधानले आफूहरु पीडित हुने जनाउँदै भन्सार एजेन्टमा काम गर्ने कर्मचारीले बिरोध गरेका हुन् । यो जरिवाना आयात निर्यात गर्ने सम्बन्धित कम्पनी र भन्सार एजेन्टले नतिर्ने भएकाले आफू परिने भनाइ उनीहरुको छ ।
‘सामान्य गल्ती भएमा पहिला सच्याउन पाइन्थ्यो, अहिले जरिवाना तिर्नु पर्ने भएकाले हामीले बिरोध गरेका हौं’, आन्दोलनकर्ता आकाश शर्माले भने, ‘सामान्य गल्ती भएर विवरण फरक परेमा बिना जरिवाना सच्याउन पाउनु पर्ने हाम्रो माग हो ।’ यसबारेमा नेपाल भन्सार एजेन्ट महासंघको बैठक बस्दै गरेको र बैठकको निर्णय अनुरुप आन्दोलनको दिशा निर्देश हुने उनले बताए ।








प्रतिकृया दिनुहोस्