नारायणीको कटानले जोखिममा सुस्ता


भैरहवा– नारायणीले निरन्तर कटान गरेपछि पश्चिम नवलपरासीको सुस्ता जोखिममा परेको छ । गत वर्ष सुस्ता गाउँपालिकाले नदीजन्य पदार्थ निकासीका ठेक्का लगाएपछि ठेकेदारले नदीको धार परिवर्तन हुनेगरि उत्खनन गरेकाले बस्ती जोखिममा परेको हो । ठेकेदारको लापरबाहीले स्थानीयको उठिबास लाग्ने अवस्था छ ।
‘गाउँपालिकाले क्षणिक लाभका लागि बस्ती नै संकटमा पुर्यायो,’ स्थानीय रविन्द्र जैसवालले भने, ‘हजारौ हेक्टर भूमि गुमाउनुपर्ने अवस्था छ ।’ पूर्वी क्षेत्र तर्फ धेरै पानी प्रवाह हुँदा कटान बढेपछि सुस्ता जोखिममा परेको उनले सुनाए । हिउँदको समयमा पनि नदीको पानीले निरन्तर कटान गरेर माटोको तटबन्धलाई कमजोर बनाइरहेको उनले बताए । वर्षायामा सुस्ताबासीले बोरामा बालुवा भरेर पानी वहाव रोक्ने प्रयास गरेका थिए ।
सुस्ताका बासिन्दाले भोग्नु परिरहेको समस्यालाई लिएर भदौ ५ गते लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्रीसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, उर्जा तथा जलश्रोत मन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाइ सकेको उनले बताए ।
समस्यालाई बेवास्ता गर्दै गाउँपालिकाले पुनः नारायणीबाट नदीजन्य पदार्थ उत्खननका लागि पक्रिया अगाडि बढाउन लागेको स्थानीयले बताए । सुरुवातमा सुस्ताको कुल भूमि ४० हजार ९ सय हेक्टर थियो । तीमध्ये १४ हजार ५ सय हेक्टर भूमि भारतीय अतिक्रमणमा परिसकेको छ । १९ हजार ४ सय ८० हेक्टर जमिन बिवादित अवस्थामा छ । ७ सय हेक्टर मात्र सुस्ताबासीले भोगचलन गर्दै आएका छन् । गाउँपालिकाले लाभका लागि नदी उत्खनन गराउदा धार परिवर्तन भएर ठूलो नोक्सानी बेहोर्न पर्ने अवस्था आएको सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खानले बताए ।








प्रतिकृया दिनुहोस्