June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

सुनसान छ, खाद्य कम्पनीको लुम्बिनी प्रादेशिक कार्यालय परिसर

Advertisement

भैरहवा– यतिबेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा परिसरमा निकै चहलपहल हुनुपर्ने हो । धानको ढुवानी गरिएका ट्याक्टरको लाइन हुनुपर्ने । धान बिक्री गर्ने किसानको ताँती लाग्नु पर्ने । कम्पनीका कर्मचारीलाई धानको गुणस्तर हेर्नेदेखि तौलिने र हरहिसाव गर्न भ्याइ–नभ्याइ हुनुपर्ने हो ।

Advertisement

तर, त्यस्तो केही छैन । कम्पनीको प्रादेशिक कार्यालय परिसर सुनसान छ । कार्यालयमा कर्मचारीमात्रै छन् । न किसान भेटिन्छन्, न त खरिद गरिएको धानले भरिएका गोदाम नै । धान राख्ने भनिएका गोदाम पनि रित्तै छन् ।

कम्पनीको प्रादेशिक कार्यालय, भैरहवाले यस वर्षका लागि किसानबाट ५ हजार क्विन्टल साँवा मनसुली धान खरिद गर्ने लक्ष्य राखेको छ । रुपन्देही आसपासका क्षेत्रमा बढी मात्रामा किसानले साँवा मनसुली धान लगाउने भएकाले भैरहवाबाट यस वर्ष साँवा मनसुली धानकोमात्र खरिद गर्ने योजना कम्पनीले राखेको हो ।

सूचना अधिकृत तथा गुण नियन्त्रण अधिकारी बसन्तराज अधिकारीले केही किसान धान बिक्री गर्न कम्पनीमा सम्पर्कका लागि आउने गरे पनि बिक्री गर्न नआएको बताए । ‘अहिलेसम्म आठ–नौ जना किसान धानको नमूना लिएर आएका छन्’, अधिकारीले भने, ‘सोंचे अनुरुप धान बिक्रीका लागि किसान कम्पनीमा आएका छैनन् । यसको कारण के हो ? हामी खोज्दै छौं ।’

धान खरिद गर्न मूल्य निर्धारण भएको एक हप्ता भयो । निर्धारण गरिएको खरिद मूल्य बजार भाउ भन्दा बढी छ । कम्पनीले निर्धारित मूल्यमा धान खरिद कार्यक्रम सुरु गरेको पनि एक साता हुन लाग्यो । बजार भाउ भन्दा महङ्गोमा धान खरिद गरिने जानकारी किसानलाई दिन स्थानीय एफएमबाट सूचना पनि छिनछिनमा प्रशारण गरिएको छ । तर, पनि धान बिक्री गर्न किसान कम्पनीमा आएका छैनन् ।

अधिकारीका अनुसार प्राथमिक खरिद समितिले साँवा मनसुली धान खरिद गर्न प्रति क्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा मूल्य निर्धारण गरेको छ । जबकी बजारमा यतिवेला साँवा मनसुली धानको खरिद मूल्य प्रति क्विन्टल ३ हजार ५ सय रुपैयाँ मात्र छ ।

उक्त कम्पनीले गत मंसिर ५ गतेदेखि धान खरिद कार्यक्रम सुरु गरेको हो । अहिलेसम्म २२ क्विन्टल मात्र धान खरिद गरेको छ । नेपालगञ्ज, बर्दिया लगायतका पश्चिमी क्षेत्रमा रहेका कम्पनीको कार्यालयमा धान बेच्न आउने किसानको ताँती लाग्ने गरेको अवस्थामा प्रादेशिक कार्यालयमा भने अहिलेसम्म किसान आकर्षित हुन सकेका छैनन् ।

सूचना अधिकृत अधिकारी बिक्रीका लागि किसानले ल्याएको धानको गुणस्तर हेरेर मात्र कम्पनीले खरिद गर्ने भएकाले र गाउँगाउँका किसानलाई कम्पनीले बजार भाउ भन्दा महङ्गोमा धान खरिद गर्ने जानकारी नपुगेर पनि नआएको हुन सक्ने बताउँछन् । ‘हामीले धान खरिदमा निर्धारित मापदण्ड अनुरुपको गुणस्तर कायम गर्नै पर्छ’, उनले भने, ‘विगतका दुई–तीन वर्षसम्म यस कार्यालयले धान खरिद नगरेकाले पनि किसानसँगको सम्बन्धमा दुरी बढेको हुनसक्छ ।’

भुस, पराल नभएको, अन्य धान नमिसिएको, धानमा बढि चिसोपन नभएको, नबिग्रिएको लगायतका मापदण्ड कम्पनीको छ । साँवा मनसुली धान बिक्रीका लागि किसान तथा धान व्यापारी भैरहवाका मील उद्योग समक्ष भने आइरहेका छन् ।

भैरहवाको उद्योगपुरीस्थित मुक्तिनाथ खाद्य उद्योगका सञ्चालक तथा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले खाद्य कम्पनीले धान खरिद गर्दा गुणस्तरको मापदण्ड हेरेर मात्र खरिद गर्ने तर बाहिर बजारमा भने गुणस्तरमा केही कमी भए पनि खरिद गर्ने भएकाले किसान तथा धान व्यापारी कम्पनीमा नगएको हुन सक्ने बताए ।

‘हामीले मनसुली धानमा अलिअलि अन्य धान मिसिएको र बढि नै चिसोपन भएको पनि खरिद गर्ने गर्छौं । तर खाद्य कम्पनीले गुणस्तरको मापदण्ड पुरै पालना गर्ने गर्छ’, न्यौपानेले भने, ‘गुणस्तर हेरेर खरिद गरेपछि किसान तथा व्यापारीले हामीबाट धेरै फाइदा पाउँछन् ।’