एडीबी परियोजनालाई प्रभावबारी बनाउन समीक्षा


भैरहवा– भैरहवामा एसियाली विकास बैंक (एडीबी) सहयोग प्राप्त ‘शहरी उत्थानशिलता तथा जिबिकोयापन सुधार आयोजना’को समीक्षा बैठक सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा एडीबीको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा प्रगति समीक्षा गरिएको हो ।
बैठकमा नगर प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, एडीबीका टिम लिडर नरेश गिरी, परियोजना समन्वय इकाईका योजना प्रमुख प्रकाश अर्याल, सह–व्यवस्थापक चन्द्रशेखर महतो, परियोजनाका परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो । त्यसैगरी तिलोत्तमा, देवदह, लुम्बिनी सांस्कृतिक र सैनामैना नगरपालिकाका योजना शाखा प्रमुखहरूको पनि सहभागिता थियो ।
नगर प्रमुख खाँले गुणस्तरीय रुपमा समयमैसम्पन्न गर्ने गरि काम अगाडि बढाउन र सबै सरोकारवाला र स्थानीयसँग समन्वय गरेर काम गर्न निर्देश दिए । उनले कुनै पनि बहानामा काममा बिलम्ब हुन नहुने बताए ।
बैठकले परियोजनाको हालसम्मको भौतिक तथा आर्थिक प्रगति, आगामी कार्ययोजना, समन्वय तथा सहकार्यका विषयमा विस्तृत छलफल गरेको थियो । एडीबीको टोली, पीसी र पीआईयू र सम्बन्धित नगरपालिकाहरूबीच परियोजनालाई थप प्रभावकारी बनाई समयमै सम्पन्न गर्न आवश्यक रणनीति र जिम्मेवारीबारे स्पष्ट सहमति कायम भएको सिद्धार्थनगरका प्रशासन महाशाखा प्रमुख एवं सूचना अधिकारी देवप्रसाद ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सबै पक्षबाट परियोजनाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ भने आगामी दिनमा अझ सशक्त समन्वय र सहकार्यका साथ अघि बढ्ने समझदारी बनेको छ ।
जिल्लाका पाँच नगरपालिकामा सुरु यस आयोजनाले शहरी पूर्वाधार, जलवायु अनुकूलन र बसोबासयोग्य शहर निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।








प्रतिकृया दिनुहोस्