June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

बुटवलमा कृषि मेला सञ्चालनका लागि कार्यसम्पादन समिति गठन

Advertisement

बुटवल– आगामी माघमा बुटवलमा सञ्चालन गरिने कृषि मेलाको लागि कार्यसम्पादन समिति तथा सचिवालय समिति गठन गरिएको छ । हरेक वर्ष कृषि मेला गर्दै आएको बुटवल उद्योग वाणिज्य संघले यो वर्ष आगामी माघको १४ देखि १८ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको थियो ।

Advertisement

उक्त मेला सञ्चालनका लागि सोमबार बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समिति सहित सचिवालय समिति गठन गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कार्यसम्पादन समितिको संयोजकमा संघका अध्यक्ष हरिप्रसाद अर्याल छन् । मेला मूल्यांकन समितिको संयोजकमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूलाई जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यसम्पादन समितिको सहसंयोजकमा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपसंयोजकमा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई तथा सदस्य सचिवमा महासचिव मुक्तिप्रसाद अधिकारी छन् ।

त्यस्तैगरी आर्थिक व्यवस्थापन संयोजकमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, समारोह व्यवस्थापन संयोजकमा सचिव प्रतिक पोखरेल र अतिथि सत्कार तथा उपहार व्यवस्थापन संयोजकमा सहकोषाध्यक्ष धनकुमारी खनालाई जिम्मेवारी दिइएको छ । त्यसैगरी कार्यसमितिका सदस्यहरुलाई विषयगत समितिको जिम्मेवारी प्रदान गरिएको छ । संघका अध्यक्ष अर्यालकै संयोजकत्वमा सचिवालय समिति गठन गरिएको छ । सचिवालय समितिको सदस्यहरुमा संघका पदाधिकारीलाई राखिएको छ ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि संघले २०६२ सालदेखि विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । आगामी माघमा आयोजना गर्न लागिएको कृषि मेलालाई नमुना कृषि मेलाका रुपमा सञ्चालन गर्नेगरी तयारीका कामलाई अगाडि बढाईएको अध्यक्ष अर्यालले बताए । उनका अनुसार नेपालमा परम्परागत रुपमा हुँदै आएको कृषि प्रणाली पछिल्लो समयमा व्यवसायिक रुपमा सुरुवात भएको र यसलाई अझै बैज्ञानिक र प्रतिस्पर्धी क्षमताको विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिइने छ ।

‘कृषि प्रणालीको विकास र प्रर्वद्धनका लागि किसान, सेवा प्रदायक संस्थाहरु, उपभोक्ता र सरकार बिचको तारतम्य मिल्न आवश्यक छ, यी चार संयन्त्रको तारतम्य कसरी मिलाउन सकिन्छ भन्ने कुराको समेत मेलामा खोजी हुनेछ’, उनले भने । त्यसैगरी कृषिजन्य उत्पादनहरुको प्रदर्शनी, बिक्री वितरण, कृषि प्रविधि, औजार तथा उपकरणको प्रदर्शनी तथा विक्रि वितरण, किसान, उपभोक्ता, सेवा प्रदायक संस्थाहरु र सरकार बिच अन्तरक्रिया लगायतका कार्यक्रम गरिने छ ।