June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी तीव्र

Advertisement

बुटवल– रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ पुस ३ देखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ हुने भएको छ । यसको तयारीका लागि बुटवल मण्डपबाट तयारीका काम सुरु गरिएको छ ।

Advertisement

आइतबार कार्यालयको सबै सेवा मण्डपमा सारेर औपचारिक रुपमा प्रदर्शनीको तयारी थालिएको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार बुटवल मण्डपमा निर्माणाधीन आधुनिक प्रदर्शनीस्थलमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गरिँदैछ ।

प्रदर्शनीभित्र स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने र स्वदेशी उत्पादन मात्र समावेश हुने उनको भनाइ छ । बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघ यस आयोजनाका संरक्षक रहने छन् ।

अध्यक्ष पराजुलीका अनुसार प्रदर्शनीका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार सिर्जना, गोष्ठी र अन्तक्र्रिया रहने छन् ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, आइटी लगायतका करिव ५ सय स्टलहरु रहने छन् । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्यकलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल आदि रहने छन् ।

प्रदर्शनी सम्पन्न गर्नका लागि रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिने महासचिव सुमन बस्यालले बताए ।

प्रदर्शनी करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको कारोवार हुने अनुमान गरिएको प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले जानकारी दिए । यो क्षेत्रमा पुसको प्रदर्शनी आर्थिक, औद्योगिक, साँस्कृतिक तथा सामाजिक विकासमा कोशेढुंगा बन्दै आएको छ ।

रुपन्देही उद्योग संघको पहलमा वि.सं. २०४५ सालदेखि थालनी गरेको प्रदर्शनीको अभियानले पछिल्ला दिनहरुका नयाँ रुप धारण गर्दै आएको छ । त्यही अभियानको निरन्तरता स्वरुप यस वर्ष संघले १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ आयोजना गर्न लागेको जनाएको छ ।